२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

रास्वपाप्रति ओलीको कटाक्ष: ‘संसदमा ड्याम-ड्याम गरेर चिया-कफी खान जान्छन्’

नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी प्रति लक्षित गर्दै रास्वपाको पछिल्लो संसदीय अभ्यासप्रति व्यङ्ग्य गरेका छन्।

उनले संसद चल्न नदिई होहल्ला गर्ने र बैठक बहिष्कार गर्ने शैलीलाई ‘ड्याम-ड्याम गरेर चिया-कफी खान जाने’ प्रवृत्तिका रूपमा चित्रण गरे।

मंगलबार भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदको बैठक सुरु हुनासाथ केही दलका सांसदहरूले टेबल ठोक्दै बैठक अवरुद्ध गर्ने र बाहिर निस्कने गरेको भन्दै त्यसलाई गैरजिम्मेवारपूर्ण कार्यको संज्ञा दिए।

‘पार्लियामेन्ट पनि केही तत्वहरुले यस्तो बनाए, कारबाही प्रारम्भ हुन्छ भनेर सभामुखले भन्नेबित्तिकै ड्याम-ड्याम- ड्याम गरेर उठ्यो,’ ओलीले भने, ‘आफ्नै स्वार्थका सारंगी र्‍याइँ-र्‍याइँ पारेर हामी त हिँड्यौं है भन्दै बाहिर गयो। के गर्न ? चिया खान, कफी खान, गफ गर्न।’

उनले आफ्नो पार्टीको लामो राजनीतिक इतिहास र जिम्मेवारीबोध रहेको तर केही दलहरू ‘हाहुको भरमा’ बनेको भन्दै कटाक्ष गरे। ‘हामी त त्यस्तो पार्टी होइनौं त। हाहुको भरमा ‘हाहाहा’ गरेर बनेको पार्टी त होइन नि हामी,’ ओलीले भने, ‘हामी त एउटा अभिभारा बोकेर, देशको इतिहास रचेर आएका शक्ति हौं।’

पछिल्लो समय सहकारी प्रकरणमा छानबिन समितिको माग गर्दै रास्वपालगायतका दलहरूले निरन्तर संसद अवरुद्ध गर्दै आएका बेला ओलीको यो अभिव्यक्ति आएको हो।

उनले यस्तो शैलीले देश विकासको गतिमा बाधा पुग्ने र संसदीय प्रक्रियाको अवमूल्यन हुनेतर्फ संकेत गरे।

प्रकाशित: २७ श्रावण २०८२ २१:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App