१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

बालेन लक्षित ओलीको कटाक्ष: हामी मर्यादा सिकाउँछौं, उनीहरू अपशब्द लेखेर सुरु गर्छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा प्रयोग हुने अशिष्ट र अभद्र भाषाप्रति लक्षित गर्दै त्यसले नेपाली संस्कृति र सभ्यतालाई बिगारेको टिप्पणी गरेका छन्।

भक्तपुरको गुण्डुस्थित निवासमा पार्टीका नेता-कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले भने, ‘अहिले त अपशब्द बोलेर सुरु गर्छन्। स्टाटस लेख्दाखेरि नेपालीले नबोल्ने भाषा लेख्छन्। त्यो असभ्यता हाम्रो संस्कृतिभित्र पर्दैन।’

उनले कसैको नाम उल्लेख नगरे पनि सो अभिव्यक्ति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति लक्षित रहेको बुझ्न सकिन्छ। गत शनिबार मध्यराति मेयर बालेनले आफ्नो फेसबुक पेजबाट अमेरिका, भारत, चीन लगायत प्रमुख राजनीतिक दलहरूलाई लक्षित गरी आपत्तिजनक स्टाटस लेखेका थिए।

लेखेको केहीबेरमा आलोचना सुरू भएपछि बालेनले उक्त पोस्ट आफ्नो वालबाट हटाए पनि सामाजिक सञ्जालभरि त्यसको स्क्रिनशट भने ‘भाइरल’ बनेको थियो।

सोही विषयलाई लिएर ओलीले आफूहरूले समाजमा सभ्यता, शिष्टता र मर्यादा सिकाउन खोजे पनि केहीले त्यसलाई बिगार्न खोजेको आरोप लगाए।

‘हाम्रो परम्परा भनेको असहमत हुँदा पनि सम्मानजनक तरिकाले राख्ने हो,’ उनले भने, ‘हामीले सभ्यता, शिष्टता र मर्यादा सिकाउन खोज्यौं, अपनाउन खोज्यौं, तर अरुले त्यसलाई बिगार्न खोजे।’

यसैगरि, आजै सोही स्टाटसलाई आधार बनाएर एमाले निकट युवा संघले साइबर ब्युरोमा उजुरी दिई मेयर बालेनलाई पक्राउ गर्नसमेत माग गरिसकेको छ।

ओलीले आफ्नो सम्बोधनमा समाजलाई बिगार्ने, घृणा फैलाउने र सामाजिक मर्यादा भत्काउने काम भइरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए।

प्रकाशित: २० कार्तिक २०८२ १८:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App