नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण ढङ्गले २५ दिन थुनेर दुःख दिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
४८ औं पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको यस कदमप्रति आपत्ति जनाएका हुन्।
अध्यक्ष ओलीले पौडेल आफैं काठमाडौँ फर्किने पूर्वतयारीमा रहँदा-रहँदै सरकारले नियतवश पक्राउ गरी रातभर सुत्न नदिई गाडीबाट काठमाडौं ल्याएको बताए।
‘उहाँ पार्टीको कामको सिलसिलामा सुर्खेत पुग्नुभएको थियो। भोलिपल्ट बिहानै ९ बजेको प्लेनबाट काठमाडौं आउँदै हुनुहुन्छ भन्ने सरकारलाई राम्ररी थाहा थियो,’ ओलीले भने, ‘तर प्लेनबाट ९ बजे आफैँ आइपुग्ने मान्छेलाई रातभर सुत्न नदिई, दुःख दिएर पक्राउ गरी गाडीको बाटोबाट काठमाडौं ल्याइयो। एउटा कुचुक परेको अँध्यारो कोठामा २५ दिन थुनियो।’
२५ दिनसम्म हिरासतमा राखेपछि अदालतले थुन्नुपर्ने कुनै आधार नदेखेर साधारण तारेखमा छाडेको उल्लेख गर्दै ओलीले सरकारको नियतमाथि प्रश्न उठाए। ‘२५ दिन थुनेपछि अदालतले थुन्नुपर्ने कुनै आधार देखेन र साधारण तारेखमा छोडिदियो। कस्तो प्रतिशोध ? कत्रो प्रवृत्ति ? कता जाँदैछौँ हामी ? के हुँदैछ लोकतन्त्रमा ?’ ओलीले भने।
सरकारले राजनीतिक दलहरूसँग कुनै परामर्श नगरेको र दलहरूलाई अनादर, उपेक्षा तथा अवहेलना गर्दै कुप्रचार र झुटा आरोप थोपेर अघि बढेको ओलीको आरोप छ।
उनले मुलुकमा लोकतन्त्र खतरामा परेको भन्दै लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्नेमा जोड दिए।
प्रकाशित: ७ श्रावण २०८३ १६:३१ बिहीबार


-600x400.jpg)


