१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

ओलीको चुनौती: ‘म नेपालभित्र जहाँ पनि जान्छु, कुन लोकतन्त्रले थुन्छ हेरौंला’

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफ्नो स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने अधिकारमाथि अङ्कुश लगाउन खोजेको आरोप लगाउँदै आफूलाई रोकेर देखाउन चुनौती दिएका छन्।

शनिबार पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू नेपालभित्र जहाँसुकै जाने र कुन कानुन र लोकतन्त्रले आफूलाई रोक्छ, त्यो हेर्ने बताएका हुन्।

सरकारले आफूलाई काठमाडौँ उपत्यकाभित्रै भक्तपुर जानसमेत रोक लगाउन खोजेको भन्दै अध्यक्ष ओलीले आपत्ति जनाए।

उनले भने, ‘मलाई जतिबेला काम पर्छ, त्यतिबेला म साँगा कट्ने होइन, नेपालको सरहदभित्र जहाँ पनि पुग्न जानेछु।’  उनले सरकारलाई चुनौती दिँदै थपे, ‘के कानुनले समाउँछ, के कानुनले थुन्छ, कुन लोकतन्त्रले थुन्छ, त्यो म हेर्छु।’

उनले वर्तमान सरकारले देशलाई मनपरी र जथाभावी ढंगले चलाइरहेको आरोप लगाए।

ओलीले प्रश्न गरे, ‘जथाभावी गर्ने ? मनपरी गर्ने ? कहाँबाट ल्याएको तिमीले यो देश ? हाम्रो होइन ?’ उनले सरकारले मौखिक आदेशका भरमा शासन चलाउन खोजेको भन्दै त्यसको कुनै कानुनी आधार नभएको बताए।

जेन-जी आन्दोलनपछि सत्ताबाट बाहिरिएका ओलीले आफू र आफ्नो पार्टी देश छाडेर नभाग्ने स्पष्ट पारे। ‘यस्तो यो कुनै जग नभएको असंवैधानिक सरकारलाई देश जिम्मा छोडेर हामी विदेश भाग्छौँ ? हामी त देशभित्र बसेर, जेलमा बसेर होस् कि भूमिगत बसेर होस् कि, जसरी होस् देशभित्रै बसेर सङ्घर्ष गरेर आएका हौँ,’ उनले भने।

प्रकाशित: १ कार्तिक २०८२ १७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App