नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको पत्रकारिता र प्रेस स्वतन्त्रताको इतिहास लामो संघर्ष र प्रतिकूल परिस्थितिबाट अघि बढेको बताएका छन्।
पार्टीको निर्वाचनमा भएको पराजयलगायत विषयको समीक्षा तथा जनतासँगको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनर्गठनसम्बन्धी सुझाव दिन गठित कार्यदलसँगको छलफलमा ओलीले निरंकुश शासनका समयमा आवाज उठाउनेहरूमाथि दमन हुने गरेको बताए।
‘मैले देख्दा त अहिलेको सरकार ‘छापा–मार’ सरकार जस्तो देखिन्छ । ‘छापामार’ एकै ठाउँमा होइन–छापा, मार् सरकार । त्यसो भएपछि सञ्चारमाध्यमलाई अप्ठ्यारो त हुने नै भयो,’ ओलीले भने।
ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार लामो संघर्षबाट स्थापित भएको उल्लेख गर्दै त्यसको संरक्षणका लागि निरन्तर आवाज उठाउनुपर्ने बताए। उनले राणा शासनदेखि पञ्चायत र राजतन्त्रविरुद्ध भएका संघर्षको स्मरण गर्दै स्वतन्त्रताविरोधी कदम लामो समय टिक्न नसक्ने दाबी गरे।
‘१०४ वर्ष टिकेको राणा शासन ढल्यो, ३० वर्षको पञ्चायत सकियो, ज्ञानेन्द्रले २०६१ मा गरेको ‘कु’ ६३ सम्म पुग्दा अन्त्य भयो । त्यसैले अहिलेका संकीर्ण र स्वतन्त्रताविरोधी कदमहरू पनि धेरै लामो समय टिक्न सक्दैनन्,’ ओलीले भने।
उनले अधिकारका लागि संघर्ष गर्दा सम्झौता वा पछि हट्ने प्रवृत्तिले उपलब्धि हासिल नहुने बताए। आफ्ना अधिकार र स्वतन्त्रताका पक्षमा आवाजलाई निरन्तरता दिन उनले आग्रह गरे।
‘तपाईंहरूले सम्झौता गर्नुभयो वा पछि हट्नुभयो भने अधिकार पाइँदैन । त्यसैले आफ्नो आवाजलाई निरन्तरता दिनुहोस्,’ ओलीले भने।
उनले राणा शासनका समयमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विकास अत्यन्त कठिन परिस्थितिमा भएको उल्लेख गर्दै शासकविरुद्ध आवाज उठाउनेहरूलाई कठोर सजाय दिइने गरेको बताए।
नेपाली प्रेसको विकास सहज परिस्थितिमा नभई लामो संघर्ष र प्रतिकूलताबीच भएको भन्दै अहिले प्राप्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका अधिकार पनि सहज रूपमा प्राप्त नभएको भन्दै उनले निरन्तरको संघर्षबाट ती अधिकार स्थापित भएको बताए।
प्रकाशित: २८ भाद्र २०८३ १५:०८ आइतबार





