२० असार २०८३ शनिबार
image/svg+xml
राजनीति

बालेनको बोलीबारे ओलीले भने- भारतको सीमा मिचेको भन्ने आरोपको खण्डन खै ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्दैमा भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिको खण्डन नहुने बताएका छन्।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार आयोजित विचार गोष्ठीमा बोल्दै अध्यक्ष ओलीले रास्वपा महाधिवेशन र संसद्‌मा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति अझै नसच्चिएको दाबी गरे।

अस्ति चितवनमा पुगेर लिपुलेक र कालापानी नेपालको हो भनेपछि नेपालले थुप्रै ठाउँमा भारतको सीमा मिचेको छ भन्ने विवादित आरोप खण्डन भयो भन्दै केही विद्वान्‌हरू उफ्रिएको उल्लेख गर्दै ओलीले त्यसको आलोचना गरे।

उनले प्रश्न गरे, ‘कहाँ खण्डन भयो ? लिपुलेक र कालापानी नेपालको हो भन्नु एउटा कुरा हो, त्यो बेग्लै विषय हो। संसद्‌मा विवाद यो विषयमा भएको होइन, विवाद त नेपालले थुप्रै ठाउँमा भारतको सिमाना मिचेको छ भन्ने कुरामा भएको हो, जुन कुरा अझै खण्डन गरिएको छैन।’

संसद्‌मा भएको बहस लिपुलेक र कालापानी नेपालको हो कि होइन भन्नेमा नभई नेपालमाथि लागेको सीमा मिचेको गम्भीर आरोपका विषयमा भएको ओलीले सुनाए।

प्रधानमन्त्री शाहको उक्त गैरजिम्मेवारपूर्ण दाबीलाई सरकारले अझैसम्म आधिकारिक रूपमा नसच्याएको र खण्डन नगरेको उनको भनाइ थियो। प्रधानमन्त्रीको विवादित अभिव्यक्तिको बचाउ गर्न सम्बन्धित मन्त्रीले संसद्मा लटपट गरेर जवाफ दिएको ओलीले आरोप लगाए।

उनले भने, ‘मन्त्रीले संसद्मा लटपटे जवाफ दिएर विषयलाई ढाकछोप गर्न खोजे पनि प्रधानमन्त्रीको त्यो गम्भीर अभिव्यक्ति अझै खण्डित हुन सकेको छैन र त्यसले राष्ट्रलाई नोक्सान पुर्‍याइरहेको छ।’

प्रकाशित: १४ असार २०८३ १७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App