२५ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

‘तपाईं कहिले पाखा लाग्ने’ भनेर सोधेपछि पत्रकारसँग रिसाए ओली

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली सञ्चारकर्मीको प्रश्न सुनेर आक्रोशित भएका छन्।

शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूलाई पार्टी राजनीतिबाट ‘कहिले पाखा लाग्ने’ भनी सोधिएको प्रश्नप्रति आपत्ति जनाएका हुन्।

पार्टी बैठकमा सहभागी हुन पुगेका ओलीलाई एक सञ्चारकर्मीले प्रश्न गरेका थिए, ‘कांग्रेसको महाधिवेशन भयो, लगभग शेरबहादुर देउवा पाखा लाग्नुभयो। तपाईं चाहिँ कहिले पाखा लाग्ने भनेर जनताले सोधिराखेका छन् नि ?’

सञ्चारकर्मीको प्रश्न नसकिँदै ओलीले प्रतिप्रश्न गरे, ‘कुन जनताले सोध्यो ?’

सञ्चारकर्मीले ‘धेरै जनताले भनिरहेका छन्’ भन्दै फेरि प्रश्न दोहोर्‍याएपछि अध्यक्ष ओली झन् आक्रोशित भए। उनले झर्किंदै भने, ‘नचाहिने कुरा गर्न कसले सिकायो ? तपाईंलाई तपाईंको मालिकले निकालिदेला।’

त्यसपछि अर्का सञ्चारकर्मीले ‘त्यसो भए एमालेमा तपाईंको विकल्प छैन त ?’ भन्दै प्रश्न सोधेका थिए। उक्त प्रश्नमा पनि ओली थप रुष्ट बने।

उनले पुनः आक्रोशित शैलीमा भने, ‘अझै नचाहिने कुरा गर्न कसले सिकायो ?’ सञ्चारकर्मीले ‘यो त जनताको प्रश्न हो नि’ भन्दै आफ्नो कुरा राख्न खोजे पनि ओलीले त्यसलाई सुनेनन् र गाडीतर्फ अघि बढे।

सोही क्रममा सञ्चारकर्मीले पार्टी बैठक र महासचिव शङ्कर पोखरेलसँगको सम्बन्धबारे पनि ओलीसँग प्रश्न गरेका थिए।

स्थायी कमिटी बैठकपछि महासचिव पोखरेलसँग मनमुटाब बढेको र उनले ओलीको फोनसमेत नउठाएको चर्चाबारे सोधिएको प्रश्नमा भने ओलीले त्यसलाई ठाडै अस्वीकार गरे। उनले सङ्क्षिप्त प्रतिक्रिया दिँदै भने, ‘त्यसमा कुनै सत्यता छैन, बिल्कुल छैन।’

प्रकाशित: २४ आश्विन २०८३ १६:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App