२८ भाद्र २०८३ आइतबार
image/svg+xml
राजनीति

ओली भन्छन् : सत्यको पक्षमा छौँ, फेरि जित्छौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू सत्य र स्वतन्त्रताको पक्षमा रहेकाले संघर्षबाट पछि नहट्ने बताएका छन्। उनले आफ्नो आवाज र अधिकारका लागि संघर्षरत पक्षलाई धैर्यताका साथ निरन्तर अघि बढ्न आग्रह गर्दै एमालेले पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। 

निर्वाचनमा पार्टीको पराजयलगायतको समीक्षा र जनताको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनः गठनका लागि सुझाव दिन गठित कार्यदलको  छलफल बोल्दै अध्यक्ष ओलीले आन्दोलन वा संघर्षमा धैर्य आवश्यक भए पनि हार मानेर बस्न नहुने बताए।   

उनले भने, ‘अलिकति धैर्यताका साथ, तर पर्खेर बस्नु होइन। नलडी कोही हुन्न। तपाईंहरूले गिभ अप गर्नुभयो, ह्यान्ड्स अप गर्नुभयो भने त सिद्धियो।’ 

ओलीले संसद् र राजनीतिक दलबीचको सम्बन्ध जोडिएको विषय भएकाले संसद् बैठक बसेपछि सम्बन्धित विषयमा सशक्त रूपमा आवाज उठ्ने दाबी गरे। राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरू तथा पार्टीका प्रमुख सचेतकले समेत यस विषयमा आवाज उठाउने उनले बताए। 

प्रतिनिधि सभाका दलका नेता तथा उपनेता कार्यक्रममा उपस्थित हुन नसकेको प्रसंग उल्लेख गर्दै ओलीले उनीहरू अन्य बैठकमा सहभागी हुनुपरेकाले उपस्थित हुन नसकेको बताए। ‘हामी उपस्थित भइसकेपछि तपाईंहरूले पार्टीको कुनै ठाउँमा पनि उपस्थिति भएन भन्ने पिर मान्नुपर्ने कुरै छैन,’ उनले भने। 

आफूहरू अहिलेको अवस्थालाई केवल अरूको मुद्दाका रूपमा नहेर्ने ओलीको भनाइ थियो। स्वतन्त्रता र अधिकारका लागि एमालेले लामो समयदेखि संघर्ष गर्दै आएको दाबी गर्दै उनले भने, ‘यो तपाईंहरूको मात्रै सवाल होइन, हामी लड्या छौँ, हामी जेलनेल कट्या छौँ, पिटाइ छुटाइ खाएका छौँ, यातना भोगेका छौँ।’ 

ओलीले संघर्षमा केही समय धक्का लागे पनि अन्ततः आफूहरू सफल हुँदै आएको बताए। ‘यतिकै आएको होइन, लामो समयको संघर्षबाट लड्दै–लड्दै यहाँ आइपुगेका हौँ। एकछिन धक्का खाए पनि जित्दै आएका छौँ, फेरि पनि जित्नेछौँ,’ उनले भने। 

आफूहरू सत्यको पक्षमा रहेको दाबी गर्दै ओलीले संघर्षरत पक्षलाई आफ्नो अभियानप्रति विश्वस्त रहन आग्रह गरे। उनले भने, ‘हामी सत्यको पक्षमा छौँ। त्यसकारण विश्वस्त रहनुहोस्, आफ्नो संघर्षमा विश्वस्त रहेर अगाडि बढ्नुस्। हामी तपाईंहरूको साथमा छौँ।’

प्रकाशित: २८ भाद्र २०८३ १४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App