नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीको मार्गनिर्देशक सिद्धान्त र विधानमा भएको फेरबदलप्रति आक्रोश व्यक्त गर्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई वैचारिक धोका दिएको आरोप लगाएका छन्।
एकताका बेला भएको सहमतिविपरीत पार्टीले प्रजातान्त्रिक समाजवादको बाटो समातेको दाबी गर्दै खनालले आफूलाई खाडलमा हालिएको बताए।
संयोजक प्रचण्डलाई बुझाइएको ३६ बुँदे असन्तुष्टि पत्रमा खनालले पार्टीको ‘अन्तरिम विधान-२०८२’ को अध्ययनपछि आफू छाँगाबाट खसेको जस्तो भएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘पार्टीको विधानको धारा १२ मा उल्लेखित उद्देश्य पढ्दा म छाँगाबाट खसे जस्तै भएँ। ओहो ! कमरेड प्रचण्डले मलाई कुन खौलामा खसाउनु भयो। यो विधान त माधवजीले कसैसँग सल्लाह नगरी छापेको जस्तो छ।’
खनालले वैज्ञानिक समाजवादको साटो प्रजातान्त्रिक समाजवादलाई लक्ष्य बनाइनु मार्क्सवाद-लेनिनवादविपरीत भएको तर्क गरे। उनले पार्टीको विधानलाई ‘खिचडी’ भने। र यसले क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई बुर्जुवा बाटोमा लैजाने खतरा औंल्याए।
आफूलाई एकतामा ल्याउँदा वैज्ञानिक समाजवादको कुरा गर्ने तर विधानमा सामाजिक-आर्थिक रूपान्तरणको नाममा पुँजीवादी मूल्य-मान्यता समावेश गरिँदा आफूलाई धोका भएको बताए।
खनालको आक्रोश अर्का नेता एवं सह-संयोजक माधवकुमार नेपालप्रति पनि केन्द्रित छ। माधव नेपालले आफ्नो व्यक्तिगत स्वार्थ र गुटबन्दीका लागि पार्टी विधानमा फेरबदल गरेको र प्रचण्डले त्यसलाई आँखा चिम्लेर समर्थन गरेको खनालको आरोप छ।
भ्रष्टाचारको मुद्दा खेपिरहेका नेपाललाई उच्च पद दिनु र भीम रावल जस्ता योग्य नेतालाई पाखा लगाउनुले पार्टीलाई धराशयी बनाउने उनले चेतावनी दिएका छन्।
एकता भएको सात महिना बितिसक्दा पनि तल्लो तहसम्म कमिटी नबन्नु र नेता-कार्यकर्तामा चरम निराशा छाउनु नेतृत्वको अकर्मण्यता भएको खनालको ठहर छ। उनले आफूलाई जिम्मेवारीविहीन बनाएर अपमानित गरिएको र पार्टीभित्र ‘खोर’ मा थुनिएको जस्तो अनुभूति भएको समेत उल्लेख गरेका छन्।
नेतृत्वले विधि र पद्धति मिचेर स्वेच्छाचारी ढंगले काम गरेको भन्दै उनले ३६ बुँदे पत्रमार्फत जवाफ माग गरेका हुन्।
निर्वाचनमा पार्टीले व्यहोरेको लज्जास्पद हार नेतृत्वको गलत कार्यदिशाको परिणाम भएको भन्दै खनालले संयोजक र सह-संयोजक दुवैलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।
प्रकाशित: ३ असार २०८३ १९:२२ बुधबार





