नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको आन्तरिक असन्तुष्टि समाधानका लागि निवर्तमान सभापति शेरबहादुर देउवालगायत सबै पक्षका लागि सानेपाको काठको ढोका मात्र नभई हृदयको ढोका समेत खुला रहेको बताएका छन्।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति शर्माले पार्टीलाई एकढिक्का बनाउन वर्तमान सभापति गगन थापा र केन्द्रीय समितिले गरेको अपिललाई आत्मसात् गर्न सबै नेता-कार्यकर्तासँग आग्रह गरे।
‘कांग्रेस पार्टी अहिलेका वर्तमान सभापतिको मात्रै होइन, निवर्तमान सभापतिको पनि हो। यो पार्टी केन्द्रीय समितिको मात्र नभएर गाउँका क्रियाशील, शुभेच्छुक, स्वदेश तथा विदेशमा रहेका सबैको हो,’ उपसभापति शर्माले भने, ‘इतिहासदेखि निरन्तर बगेर आएको कांग्रेसमा हामी सबै सँगै रहनुपर्छ। सँगसँगै अगाडि बढ्दा मात्रै यो बलियो तागत बन्न सक्छ।’
अहिले कांग्रेस बलियो बन्नु पार्टीका लागि भन्दा पनि देशका लागि बढी जरुरी रहेको उनले सुनाए।
विवाद अदालतसम्म पुग्ने चर्चाबारे बोल्दै उपसभापति शर्माले राजनीतिक दलभित्रको विवाद दलभित्रै संवादबाट टुङ्ग्याउनु सर्वोत्तम लोकतान्त्रिक विधि हुने बताए।
‘अदालत जाने अधिकार सबैलाई छ, तर दलहरूले आफ्नो घरभित्रको विषय अदालतको ढोकामा पुर्याएर सम्मानित न्यायालयको समय लिइरहनु उपयुक्त हुँदैन,’ उनले भने, ‘अदालतले पनि एक हदसम्म निर्णय दिइसकेको अवस्थामा अब घरभित्रको कुरो पार्टी कार्यालयको कोठामै बसेर छलफलमार्फत मिलाउनुपर्छ।’
महाधिवेशनको कार्यतालिकानिर्देश गर्दै उपसभापति शर्माले अबको १५ दिनपछि अर्थात् आगामी असोज १६ गते भव्य रूपमा महाधिवेशनको समुद्घाटन हुने जानकारी दिए।
उनका अनुसार आगामी २२ दिनभित्र महाधिवेशनको उद्घाटन, बन्दसत्र र नयाँ नेतृत्व चयनलगायतका सम्पूर्ण प्रक्रिया सम्पन्न भइसक्नेछ।
प्रकाशित: १ आश्विन २०८३ १९:२७ बिहीबार





