पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीले सदस्यता नवीकरण नगर्ने निर्णय गरेको बारे औपचारिक रूपमा जानकारी नभएको बताएकी छन्। सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले पार्टीले सदस्यता नवीकरण नगर्ने निर्णय गरेकोबारे आफूलाई कुनै जानकारी नभएको बताएकी हुन्।
भण्डारीले आफू अहिले केन्द्रीय समितिमा नरहेका कारणले पार्टीको औपचारिक निर्णयबारे जानकारी नभएको स्पष्ट पारिन्। उनले भनिन्, 'पार्टीको औपचारिक कुरा के छ, मलाई त्यो थाहा छैन। सबै सदस्यहरूलाई सबै कुरा थाहा हुँदैन नि। कमिटीमा बस्नेहरूलाई थाहा होला।’
उनले आफू एमालेको संगठित सदस्य रहेको दाबी गरिन्। हाल पार्टीको संगठित सदस्य भएका कारण संगठित सदस्यकै भूमिका निर्वाह गर्ने उनले स्पष्ट पारिन्। ‘अहिले म एमालेको संगठित सदस्य हुँ,’ भण्डारीले भनिन्, ‘नेकपा एमालेको नीति र कार्यक्रम अनुसार नै संगठित सदस्यको भूमिका निर्वाह गर्छु।’
पूर्वराष्ट्रपति राजनीतिमा फर्कन नहुने विषयको प्रश्नमा भण्डारीले पूर्वराष्ट्रपति राजनीतिमा फर्कन सक्ने जिकिर गरिन्। उनले राजतन्त्र र गणतन्त्र फरक रहेको भन्दै पद सकिएपछि पुरानो काममा फर्कन सकिने दाबी गरिन्। राष्ट्रपतिको पद आवधिक हुने र कार्यकाल सकिएपछि जुनसुकै नागरिक पनि आफ्नो सामाजिक वा राजनीतिक जीवनमा फर्कन सक्ने भनाइ उनको छ।
भण्डारीले भनिन्, ‘राजतन्त्र र गणतन्त्र फरक हो। यो आवधिक हुन्छ। जोसुकै पनि जनताको सहभागिताले निर्वाचित भएर आउन सक्छ। कार्यकाल सकिएपछि आफ्नो पुरानै जीवनमा फर्कन सक्छन्।’
वाम एकताको सम्भावनाबारे सोधिएको प्रश्नमा भण्डारीले वामपन्थी पार्टीहरू धेरै भएकाले सम्भावना नरहेको भन्न नमिल्ने बताएकी छन्। तर, त्यसलाई बलियो रूपमा नदेखेको उनको भनाइ छ। ‘सम्भावनै छैन भनेर मैले भन्न पनि मिलेन। तर, सम्भावना म त्यति बलियो देख्दा पनि देख्दिनँ,’ उनले भनिन्।
पूर्वराष्ट्रपति भण्डारीले नेपाली कांग्रेसका नेता डा शेखर कोइरालासँगको भेट स्वाभाविक रहेको भन्दै हाउगुजी बनाइहाल्नुपर्ने विषय नभएको बताइन्।
प्रकाशित: २ भाद्र २०८२ १३:५७ सोमबार





