२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

विपिन जोशी रिहाइको पहलमा कुनै कसर बाँकी राखेको छैन: परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री आरजु राणाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको शीघ्र रिहाइको पहलमा परराष्ट्र मन्त्रालयले कुनै कसर बाँकी नराखेको बताएकी छिन्। 

सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सो कुरा बताएकी हुन्। उनले हाल परराष्ट्र मन्त्रालयको परामर्शमा र इजरायल सरकारको सहयोगमा बिपिनकी आमा र बहिनी इजरायल भ्रमणमा रहेको कुरा बताउँदै सो कुरा बताएकी हुन्। 

यस्तो छ उनको स्टाटस:

हमास समूहको नियन्त्रणमा रहेका बिपिन जोशीको शीघ्र रिहाइको पहलमा परराष्ट्र मन्त्रालयले कुनै कसर बाँकी नराखी काम गरिरहेको छ । यो नेपाल सरकारको दायित्व पनि हो । हाल परराष्ट्र मन्त्रालयको परामर्शमा र इजरायल सरकारको सहयोगमा बिपिनकी आमा र बहिनी इजरायल भ्रमणमा हुनुहुन्छ र उहाँले हिजो इजरायली महामहिम राष्ट्रपतिसँग भेट गरी विपिनको रिहाइको अपिल पनि गर्नुभएको छ ।

म परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि यो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेकी हुँ । यो एकबर्ष म उपस्थित भएका संयुक्त राष्ट्रसङ्घीय महासभादेखि लिएर अन्तर्राष्ट्रिय मञ्चहरू, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्ताहरू एवं मसँगको शिष्टाचार भेटका क्रममा विभिन्न देशका राजदूतहरूसँग विपिनको रिहाइका लागि विशेष आग्रह गरिरहेकी छु । गत असोजमा राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका बेला त्यहाँ उपस्थित विश्वका नेताहरूसँग पनि यो अपिल गरेकी थिएँ ।  त्यस अवसरमा जी ७७ प्लस, जी२०, एलडिसी राष्ट्रहरूको मञ्चका बैठकहरूलाई सम्बोधन गर्दा पनि मैले विपिनको रिहाइका लागि विश्व समुदायसँग अपिल गरेँ । उहाँहरूले पहल गर्छौँ पनि भन्नुभएको थियो । त्यसैगरी दोहामा आयोजित एसिडी सम्मेलनमा र त्यसपछिका साइडलाइन भेटहरूका साथै इरानका विदेश मन्त्री लगायत सबैसँग मैले सो आग्रह गरेँ ।

इजरायल र हमासबीच युद्ध विराम भएपछि पनि त्यसमा काम गरेका देशका विदेशमन्त्रीहरु एवं नेपालमा रहेका राजदूतहरूसँग निरन्तर कुराकानी गरेँ । युद्ध विराम भएपछि गत माघ १ गते कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनमार्फत विशेष आग्रह गरेकी थिएँ । खुलाइफी शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुनुहुन्छ ।  

सोही दिन नै साँझ इजरायली विदेश मन्त्री गिडियन सारसँग र माघ ७ गते इजिप्टका विदेश मन्त्री डा बदर अब्देल–अतिसँग फोनमार्फत विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेकी थिएँ ।  

म आफ्नो शल्यक्रियाका लागि गत फागुनमा बैंककमा रहेका बेला समेत त्यहीँबाट इजिप्टका विदेश मन्त्रीसँग फोनवार्ता गरेकी थिएँ । विपिनको सुरक्षित र शीघ्र रिहाइलाई सुनिश्चित गर्ने प्रयोजनका लागि मध्यपूर्वी देशका नेपाली दूतावास मार्फत निरन्तर संवाद गरिरहेकी छु र उहाँहरूलाई यस विषयमा गम्भीर भई आफ्नो मिसनबाट हुनसक्ने पहलहरूको खोजी गरी काम गर्न निर्देशन पनि दिएकी छु ।  

त्यसैगरी गत चैतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलसँग समेत नयाँ दिल्लीमा भेट गरी विपिनको रिहाइमा अमेरिकाको सहयोग मागेकी थिएँ । साथै त्यस बखत राइसिना डायलगमा सहभागी हुन आएका विभिन्न देशका नेता र मन्त्रीसँग पनि अनुरोध गरेकी थिएँ ।  

मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालि सँग पनि गत फागुनमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले फोनमार्फत ध्यानाकर्षण गराउनुभएको थियो । नेपाल सरकारले यो मुद्दालाई प्राथमिकतामा राखेर हरसम्भवका प्रयासमा जुटिरहेको छ । सरकार उहाँहरुको परिवारको साथमा छ र उहाँहरु पनि हाम्रा कूटनीतिक प्रयासहरूका बारेमा पनि जानकार नै हुनुहुन्छ ।

प्रकाशित: २ भाद्र २०८२ १८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App