सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले भदौ २३ गते भएको जेन-जी आन्दोलनमा गोली चलाउन आफूले आदेश नदिएको स्पष्ट पारेका छन्। उनले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई दिएको बयानमा गाेली चलाउन आफूले आदेश नदिएको स्पष्ट पारेका हुन्।
आन्दोलनको गतिविधिबारे ठोस पूर्व सूचना नभए पनि सुरक्षा चुनौतीको विश्लेषण गरी सतर्कता भाे अपनाएको उनले बताएका छन् । भदौ २३ मा प्रदर्शनकारी निषेधित क्षेत्र तोड्दै संघीय संसद भवन तर्फ अघि बढेपछि समन्वयात्मक सुरक्षा व्यवस्थापनका लागि निर्देशन दिइएको उनले दाबी गरेका छन्।
उनले भीड नियन्त्रणका क्रममा सुरक्षाकर्मीहरूले कानुन, एसओपी र परिस्थितिको मूल्याङ्कनका आधारमा निर्णय लिएको उल्लेख गर्दै आफूबाट प्रत्यक्ष रूपमा गोली चलाउने आदेश नदिइएको स्पष्ट पारेका छन्।
साथै, भीड नियन्त्रणमा अधिकतम संयमता अपनाइएको र घातक बल प्रयोगबारे कुनै आधिकारिक रिपोर्ट नआएको तर हवाई फायरिङ भएको जानकारी प्राप्त भएको उनले उल्लेख गरेका छन्।
घटनापछि सुरक्षा निकायबीच समन्वय बढाउनुको साथै लुटिएका हातहतियार खोजी कार्य जारी रहेको र आन्तरिक छानबिनसमेत भइरहेको महानिरीक्षक राजु अर्यालकाे भनाइ छ।
प्रकाशित: ११ चैत्र २०८२ १५:०७ बुधबार





