११ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

बेपत्ता महिला २० दिनपछि मृत फेला

घरबाट सम्पर्कविहीन महिला २० दिनपछि मृत अवस्थामा फेला परेकी छन्। चैत २१ गतेदेखि सम्पर्कविहीन भएकी उदयपुरगढी गाउँपालिका–५ भोगटेकी ४६ वर्षीया सोममाया तामाङ सोही वडाको मौवासे जंगलमा मृत फेला परेकी हुन्।

हराएपछि विभिन्न स्थानमा खोजतलास गर्दा पनि नभेटिएकी ती महिला कंकाल मात्र बाँकी रहेको अवस्थामा मौवासे जंगलको खोल्सामा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर विष्णु खड्काका अनुसार स्थानीय मानबहादुर राई बुधबार दिउँसो घाँस दाउरा गर्न गएका बेला खोल्सामा मृत महिला देखेपछि प्रहरीलाई खबर गरेका थिए।

मृत शरीर सडेर कंकाल मात्र बाँकी रहेको अवस्थामा उनको पहिचान लुगा र चप्पलका आधारमा खुलेको प्रहरीले जनाएको छ। २० दिनअघिदेखि बेपत्ता महिला कंकाल मात्र बाँकी रहेको अवस्थामा स्थानीयले देखेपछि खबर गरेलगत्तै प्रहरी घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार पहिलो श्रीमान्बाट ४ छोरी र १ छोराकी आमा सोममायाले श्रीमान् बितेपछि गाउँकै धनबहादुर राईसँग दोस्रो विवाह गरेकी थिइन्। केही वर्षयता मानसिक सन्तुलन ठीक नभएकाले औषधि सेवन गर्दै आएकी र बेलाबेलामा बिरामी भएर नसोधी घरबाहिर निस्किने गरेको खुलेको छ।

मानसिक रोगसँगै मादक पदार्थ सेवन गर्ने बानीसमेत रहेकी उनी फागुन २१ गते कसैलाई नसुनी घरबाट निस्केपछि सम्पर्कविहीन भएकी पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

घटनास्थलको सजर्मिन मुचुल्का गरी मृतकको शव बुधबार साँझ पोस्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर खड्काले जानकारी दिएका छन्।

प्रकाशित: ११ चैत्र २०८२ २१:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App