११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

बालेन मधेसवादी होइनन्: राजेन्द्र महतो

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले रास्वपाका वरिष्ठ नेता एवं भावी प्रधानमन्त्री बालेन शाह मधेसी मूलको भए पनि राजनीतिक रूपमा मधेसवादी नभएको बताएका छन्।

बालेनसँग मधेस र उत्पीडित समुदायको अधिकार तथा पहिचानको एजेन्डा नभएकाले उनीबाट मधेसका आधारभूत समस्या समाधान हुनेमा महतोले शंका व्यक्त गरे।

‘बालेन्द्र शाह मधेसीका सन्तान हुन्, तर मधेसवादी होइनन् भन्ने हामीलाई थाहा छ,’ महतोले भने, ‘मधेसवादी चिन्तन र सोच नभएकाले उनीमाथि पूर्ण भरोसा गर्ने ठाउँ निकै कम छ।’

कांग्रेस र कम्युनिस्ट पार्टीहरूले विगतमा मधेसी अनुहारलाई प्रयोग गरे पनि मधेस केन्द्रित सोच नहुँदा अधिकार नदिएको महतोले स्मरण गराए।

उनले बालेन पनि त्यस्तै अधिकार र पहिचानवादी चिन्तन नभएको राजनीतिक मनोविज्ञानकै उपज भएको दाबी गरे। अनुहार मात्र मधेसी हुँदैमा वर्षौंदेखिको नश्लीय विभेद र पहिचानको लडाइँ सम्बोधन नहुने उनको तर्क छ।

मधेसी जनताले एउटा मधेसी अनुहार राज्यको कार्यकारी तहमा पुग्दा आफ्ना समग्र समस्या समाधान हुन्छन् कि भन्ने भावनात्मक आशाले समर्थन गरेको महतोले विश्लेषण गरे।

यद्यपि, स्पष्ट राजनीतिक विचार र पहिचानको एजेन्डाबिना अनुहारको मात्र विश्वास गर्दा उत्पीडित वर्गले फेरि पनि धोका पाउन सक्ने यथार्थप्रति उनले सचेत गराए।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै अध्यक्ष महतोले यस्तो बताएका हुन्।

प्रकाशित: ११ चैत्र २०८२ २०:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App