२५ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

राज्यको सम्पत्ति जलाएर कोही लोकप्रिय हुन सक्दैन: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको सम्पत्ति तथा सञ्चारमाध्यममा आगजनी गरेर कोही पनि लोकप्रिय हुन नसक्ने बताएका छन्।

सामाजिक सञ्जालको दुरुपयोगमार्फत भ्रम फैलाएर अराजकता मच्चाउने प्रवृत्ति हाबी भएको भन्दै उनले आपत्ति जनाएका हुन्।

आइतबार पार्टीको ‘मिसन जागरण अभियान तथा अगुवा कार्यकर्ता भेला’ लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विचार, त्याग र योगदानबिना नै हिंसात्मक गतिविधिबाट सस्तो लोकप्रियता कमाउने प्रयास भइरहेको सुनाए।

‘के काम वा त्याग गरेर मान्छे लोकप्रिय भयो ? कुनै अनाथ बालबालिका पढाएर वा योगदान दिएर हो ?’, ओलीले प्रश्न गरे, ‘राज्यको सम्पत्ति, व्यावसायिक प्रतिष्ठान, सञ्चारमाध्यमका कार्यालय र उपकरण जलाएर मान्छे लोकप्रिय हुन्छ भन्ने मलाई पहिल्यै थाहा थिएन।’

सामाजिक सञ्जालको अल्गोरिदम र दुरुपयोगले समाजमा भ्रम सिर्जना गरेको उल्लेख गर्दै उनले नेपाली जनतालाई कागले कान लग्यो भन्दै कान नछामी कागको पछि दौडिने प्रवृत्तितर्फ नलाग्न आग्रह गरे। जनता अलमलिएका कारण मुलुकमा अघिपछि भन्दा अहिले जागरण अभियानको थप आवश्यकता परेको उनको भनाइ थियो।

यसैगरी, बाढीपहिरो र विपद् व्यवस्थापनमा सरकारको शैलीप्रति असन्तुष्टि जनाउँदै ओलीले उद्धार र राहतमा विगतका गल्ती नदोहोर्‍याउन चेतावनी दिए।

पहिले भोटेकोशी र त्रिशूली बाढीका बेला सरकारी हेलिकप्टरको दुरुपयोग भएको र समयमै राहत पुग्न नसकेको दाबी गर्दै उनले यसपटक तत्काल प्रभावकारी उद्धार र राहत वितरण गर्न माग गरे।

विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापनाको मुख्य दायित्व सरकारकै भए पनि एमालेका सम्पूर्ण नेता-कार्यकर्ता, जनवर्गीय तथा पेसागत संगठनहरूलाई समेत तत्काल राहत र पुनःस्थापना कार्यमा जुट्न उनले निर्देशन दिए।

कार्यक्रममा अध्यक्ष ओलीले घटस्थापना तथा आसन्न बडादसैं २०८१ को अवसरमा सम्पूर्ण नेपाली नागरिक र पार्टी पंक्तिलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित: २५ आश्विन २०८३ १५:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App