नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रतिक्रियावादी शक्तिहरूले देशका संस्था र नेताहरूमाथि भौतिक आक्रमण गरे पनि नेपाली जनताको क्रान्तिकारी भावनालाई कसैले निभाउन नसक्ने बताएका छन्।
नेकपा (माओवादी केन्द्र) सहितका कम्युनिष्ट घटकहरूको एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले भने, ‘नेपाली जनताको क्रान्तिकारी भावनालाई कुनै मूर्खले जलाउन सक्दैन।’
‘हाम्रो देशको सिंहदरबार जलाइयो, सर्वोच्च अदालत जलाइयो, संसद जलाइयो, नेताहरूका घरहरू जलाइयो,’ खनालले भने, ‘तर कमरेडहरू, तपाईंहरू ढुक्क हुनुहोस्, नेपाली जनताको क्रान्तिकारी भावनालाई कुनै मूर्खले जलाउन सक्दैन।’
उनले जनताको चेतना र विद्रोहको आगोलाई दबाउन खोज्ने शक्तिहरू आफैं समाप्त हुने चेतावनी दिए। खनालले थपे, ‘त्यो भावना झन् दन्किएर आगो बनेर निस्किनेछ, जसले ढुङ्गा, माटो वा पात होइन, यो देशको प्रतिक्रियावादी शासनलाई नै समाप्त पार्नेछ।’
आफ्नै घरमा पनि आक्रमण भएको प्रसङ्ग कोट्याउँदै उनले आफू र आफ्नो परिवार त्यस्ता घटनाबाट विचलित नहुने स्पष्ट पारे। ‘मेरै घर जलाइयो, तर हामी डराउँदैनौँ,’ उनले भने।
प्रकाशित: १९ कार्तिक २०८२ १६:०३ बुधबार





