नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले स्थायी समितिको बैठकमा अध्यक्ष दाहालको विकल्प नखोजिएको बताए। ‘हिजो र आज अधिकांश सदस्यले नेतृत्वको विकल्प छैन भनेर प्रस्ट रूपमा राख्नुभएको छ, जनार्दन शर्माले पनि नेतृत्वको विकल्पबारे कुरा राख्नुभएको छैन,’ प्रवक्ता सापकोटाले भने। उनका अनुसार बैठकमा दाहालले प्रस्तुत गरेको प्रस्तावमा शर्माले सकारात्मक रूपमा नै धारणा राखेका थिए।
‘नेतृत्वको विषयमा खासै कुरा गर्नुभएन जनार्दनजीले आफूले जे कुरा राखे पनि ठिकै राखेको बताउनुभयो। अरू त सबैले नेतृत्वलाई सबल, सुदृढ गर्नुपर्ने कुरामा जोड दिनुभयो,’ प्रवक्ता सापकोटाले भने। नेकपा माओवादी केन्द्रका पदाधिकारी र स्थायी समितिको बैठक अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माको नोकझोकमै सकिएको छ। साउन १४ को पदाधिकारी बैठक र त्यसपछि १६ गते सुरु भएको स्थायी समिति बैठकमा अधिकांश सदस्यहरूले दाहाल र शर्माले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिमाथि केन्द्रित भएर बहस गरेका हुन्।
बैठकमा उपमहासचिव शर्माले आफू अर्थमन्त्री हुँदा ल्याएको कार्यक्रम दाहाल प्रधानमन्त्री भए पनि लागु नभएर खारेज गरेको भनी गुनासो गरेका थिए। शर्माका धारणा सुनेका दाहालले बैठकबाट बाहिरिने क्रममा ‘जसले गल्ती ग¥यो, त्यसले आत्मालोचना गर्ने कुरा हो’ भनेर टारेका थिए।
प्रकाशित: १९ श्रावण २०८२ ०८:५९ सोमबार





