कालाकार एवं प्रतिनिधि सभा सदस्य निर्वाचनमा गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकी नीशा अधिकारीले सुकुमबासी बस्तीमा सरकारले चलाएको डोजर र बल प्रयोगको विरोधमा माइतीघरमा प्रदर्शन गरेकी छिन्।
शनिबार प्रदर्शनका क्रममा उनले विकासका नाममा नागरिकलाई आतंकित बनाउने काम तत्काल रोक्न माग गरेकी हुन्।
अधिकारीले ‘बालबालिका, गर्भवती, सुत्केरी, बिरामी, अपाङ्ग र ज्येष्ठ नागरिक लगायत आम नागरिकलाई आतंकित बनाउने काम बन्द गर’ भन्ने सन्देश लेखिएको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएकी थिइन्।
बालेन शाह नेतृत्वको सरकारले सुकुमबासी बस्ती हटाउन बल प्रयोग गर्ने नीति लिएपछि उनी त्यसको विपक्षमा उभिएकी हुन्।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै अधिकारीले जुनसुकै सरकार आए पनि नागरिक र वातावरणलाई केन्द्रमा राखेर मात्र विकास निर्माणका काम अघि बढाउनुपर्ने बताइन्।
‘मानवीय संवेदनामा हतार गर्नु पर्दैन, प्रक्रियागत ढङ्गले अगाडि बढ्नुपर्छ भन्ने मेरो धारणा हो,’ उनले भनिन्, ‘दिगो र बलियो सरकारले नागरिकको संवेदनशीलता बुझ्न जरुरी छ।’
उनले आफू कुनै राजनीतिक दलको प्रतिनिधिको रूपमा नभई एक सचेत नागरिकको हैसियतमा न्यायका लागि सडकमा आएको सुनाइन्। विकासका नाममा विद्यालय, मन्दिर र गुम्बाहरू भत्काइएकोमा चिन्ता व्यक्त गर्दै अधिकारीले यसले बालबालिका र ज्येष्ठ नागरिकमा गहिरो मनोवैज्ञानिक असर पारेको उल्लेख गरिन्।
अधिकारीले सरकारले निरंकुश शैली त्यागेर लोकतान्त्रिक प्रक्रिया र मानवीय मूल्य मान्यतालाई ध्यानमा राखी अघि बढ्नुपर्नेमा जोड दिएकी छिन्।
उनले भनिन्, ‘हामी नेपालीको संस्कार नै एक अर्कालाई सहयोग गर्ने हो, यस्तो परिस्थितिमा नागरिकलाई त्रासमा राख्नु न्यायसंगत हुँदैन।’
प्रकाशित: १९ वैशाख २०८३ १५:४५ शनिबार





