२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचनमा जान आपत्ती छैन, कांग्रेस तयार छ: डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी फागुनमा हुने निर्वाचनमा जान कांग्रेस तयार रहेको बताएका छन्।

सन्तनेता कृष्णप्रसाद भट्टराईको १०२ औं जन्मजयन्तीका अवसरमा ‘कृष्णप्रसाद भट्टराई केन्द्र’ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेता डा. कोइरालाले शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति भए कांग्रेसलाई निर्वाचनमा जान कुनै आपत्ती नभएको बताए।

‘चुनावमा जान कांग्रेस तयार छ, शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्छ, पाँच हजार कैदीबन्दी कारागार बाहिर रहेका छन्, ७०० भन्दा बढी प्रहरीका हातहतियार लुटिएका छन्, चुनावको नाममा धाँधली गरेर जित्ने छुट कसैलाई छैन, प्रहरीको मनोवल उच्च बनाउनुपर्छ’, उनले भने।

निर्वाचन सम्पन्न गरेर मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउनुपर्ने अहिलेको अवस्था रहेको उल्लेख गर्दै नेता डा. कोइरालाले मुलुक अहिले अप्ठ्यारो अवस्थामा रहेको सुनाए।

पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय ढिलो आउँदा र क्रियाशील सदस्यताको फारम गाउँगाउँसम्म पठाउन ढिला हुँदा महाधिवेशन केही ढिला हुने सम्भावना रहेको उनको भनाइ थियो।

नेपालको राष्ट्रियता कमजोर भएको कारण गत भदौ २४ को परिस्थिति आएको नेता डा. कोइरालाले बताए। उनले राजनीतिक स्थिरता अहिलेको मुख्य प्राथमिकता भएको बताए।

प्रकाशित: ८ पुस २०८२ १९:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App