१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
राजनीति

नेपाली कम्युनिष्ट पाटीको गण्डकी एकता सन्देश सभा मंसिर १४ गते

नेपाली कम्युनिष्ट पार्टीले मंसिर १४ गते आइतबार गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभा गर्ने भएको छ। १५ दल मिलेर एकता गरेको सो पार्टीले गण्डकी प्रदेश स्तरीय एकता सभा पोखराको चिप्लेढुंगामा गर्ने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

बिहान ११ः३० बजेदेखि सुुरु हुने एकता सन्देश सभालाई सो पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, सह–संयोजक माधवकुमार नेपाल, नेता भीम रावललगायतले सम्बोधन गर्ने नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश अध्यक्ष कृष्णबहादुर नेपालीले जानकारी दिए । गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभामा २० हजार भन्दा बढी कार्यकर्ता उतार्ने नेपाली कम्युनिष्ट पार्टीले दाबी गरेको छ ।  

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका नेता तथा पूर्वनेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश ईञ्चार्ज दीनानाथ शर्माले गण्डकीका एघार वटै जिल्लाबाट कार्यकर्ता ल्याउने तयारी गरिएको बताए । त्यसका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।  

‘टुटफुटबाट गुज्रिएका पार्टीहरुलाई एकीकृत गरेका छौं,’ उनले भने, ‘सबै पार्टीका कार्यकर्ता तथा शुभचिन्तक उतार्ने तयारी गरेका छौं, गण्डकीका सबै जिल्लाबाट आउँछन्, खास गरेर कास्कीका विभिन्न पालिका र पोखराबाट धेरै आउँछन् ।’ उनले एकता सन्देश सभा समाजवादी क्रान्तिको आधार तयार गर्नका लागि भएको बताए । ‘हामीले ढाँटेर होईन, घोषणा गरेरै काम गरेका छौं,’ उनले भने, ‘हिजो पञ्चायत बिरुद्ध विगुल फुक्यौं र ढालेर पनि देखायौं, २०५२ सालमा गणतन्त्र ल्याउँछौं भन्यौं र ल्याएर पनि देखायौं । र अब समाजवादी क्रान्ति गर्ने घोषणा गरेका छौं, त्यसलाई सफल बनाउनका लागि विकेन्द्रीकृत पार्टीहरुलाई केन्द्रीकृत गरिरहेका छौं र त्यो पूरा गर्न लागिरहेका छौं ।’ उनले नेतृत्व पुस्तान्तरणको आवाज उठिरहेको भन्दै त्यो पनि समय आएपछि हुने बताए । नेतृत्व पुस्तान्तरण भन्ने वित्तिकै हुने होईन,उनले भने,‘प्रचण्ड, माधव नेपालजस्तै डाईनामिक जेनजी आएमा नेतृत्व पुस्तान्तरण गर्न तयार छौं । प्रचण्ड, माधवजीले पनि छाड्नु हुन्छ, हामी पनि छाड्छौं ।’  

सो पार्टीका नेता तथा पूर्व नेकपा एकीकृत समाजवादीका गण्डकी ईञ्चार्ज श्रीनाथ बरालले एकता सन्देश सभाको विभिन्न समिति बनाएर तयारी गरिएको बताए । ‘प्रचारप्रसार व्यापक बनाइएको छ, भनले भने, ‘स्टेज निर्माण, अतिथि सत्कार, गाडी व्यवस्थापनलगायतका समिति बनाएर काम गरिएको छ ।’ उनले समाजवादी क्रान्ति पूरा गर्न गण्डकी प्रदेशले अहम भूमिका खेल्ने बताए । १५ दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले अहिले देशको मूल प्रवाहिकरणको नेतृत्व गरिरहेको गरिरहेको भन्दै उनले अब जेनजीको माग अनुसार भ्रष्टाचारमुक्त देश बनाउन, सुशासन कायम गर्न पनि नेपाली कम्युनिष्ट पार्टीको विकल्प नभएको बताए । उनले एकता सन्देश सभा चुनावी तयारीका रुपमा पनि बुझ्नु पर्ने बताए ।  

नेपाली कम्युनिष्ट पार्टीका नेताहरु विश्वनाथ शर्मा, अटिन्द्रकेसरी न्यौपाने, नवराज सुवेदीलगायतले समाजवादी क्रान्ति नेपाली कम्युनिष्ट पार्टीले मात्र गर्न सक्ने बताए । उनीहरुले भदौ १४ गते पोखरामा हुने गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभालाई सफल पार्न आग्रहसमेत गरे ।  

नेपाली कम्युनिष्ट पार्टीले प्रदेश स्तरीय एकता सभा सुदूरपश्चिमको धनगडीबाट शुक्रबार शुरु गरिसकेको छ । हरेक दिन प्रदेश एकता सन्देश सभा गर्ने निर्णय गरेको सो पार्टीले मंसिर १३ गते शनिबार लुम्विनी प्रदेशको दाङ जिल्लास्थित देउखुरीमा, मंसिर १५ गते कोशी प्रदेशको विराटनगरमा, मंसिर १७ गते उपत्यका विशेष प्रदेशको काठमाडौंमा एकता सभा गर्ने जनाइएको छ ।  

त्यस्तै, मंसिर १८ गते कर्णाली प्रदेश स्तरीय एकता सभा सुर्खेतमा, मंसिर १९ गते संघीय सम्पर्क समन्वय प्रदेशको काठमाडौंमा, मंसिर २० गते मधेश प्रदेश स्तरीय एकता सभा जनकपुरमा, मंसिर २१ गते प्रवास प्रदेशहरुको संयुक्त भर्चुअल एकता सभा तथा मंसिर २३ गते वागमती प्रदेश स्तरीय एकता सभा हेटौंडामा गर्ने निर्णय भएको जनाइएको छ ।  

नेपाली कम्युनिष्ट पार्टीले प्रदेश कार्यालयको निर्णय अनुसार जिल्ला एकता सभा गर्न पनि निर्देशन दिएको छ भने मंसिर २९ गते देशभरका सम्पूर्ण स्थानिय तहहरुमा एकता सभा आयोजना गर्न भनेको छ ।

प्रकाशित: १२ मंसिर २०८२ १७:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App