२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

नेपाल संवत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल संवत् ११४६ ले सबैलाई संवैधानिक उपलब्धिको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ एकजुट भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गरेका छन्।  

नेपाल संवत् ११४६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उक्त कामना गरेका छन्।  

सभामुख घिमिरेले मौलिक इतिहास बोकेको यो संवतले नेपालीहरूमा सहिष्णुता, भाइचारा, सामाजिक सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्दै विविधतामाथि एकताको भावना बलियो पारोस् भन्ने कामना गरेका छन्।  

‘युवाहरूले उठाएका भ्रष्टाचार अन्त्य र सुशासनका आवाजहरूले देशको भविष्यप्रति नयाँ संकल्प गर्न जरुरी देखिएको छ’, सभामुखले जारी गरेको सन्देशमा भनिएको छ, ‘ती अपेक्षाहरू पूरा गर्न साझा प्रतिबद्धता, पारदर्शिता र उत्तरदायित्वपूर्ण नेतृत्व आवश्यक छ भन्ने विश्वास व्यक्त गर्दछु।’  

सभामुख घिमिरेले युवा पुस्ताको आन्दोलनपछि मुलुकमा शान्ति र स्थायित्व प्राप्त गर्ने प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउनका लागि सरकार, राजनीतिक दलहरू, युवा पुस्ता, नागरिक समाज र सम्पूर्ण नेपाली जनताबिचको साझा सहकार्य अपरिहार्य छ भन्ने विश्वास व्यक्त गरेका छन्।  

‘नेपाल संवत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो’, उनले भने, ‘राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई मुक्ति दिलाई स्वतन्त्र र सम्मानजनक जीवनको आधार तयार गर्नुभएको ऐतिहासिक सम्झनामा नेपाल संवत् मनाउने गरिएको छ।’ उनले नेपाल संवत्को अवसरमा सबै नेपाली ऋणमुक्त हुँदै आर्थिक समृद्धि, आत्मनिर्भर र सुखी बन्न सकुन् भन्ने शुभेच्छा प्रकट गरेका छन्।

प्रकाशित: ५ कार्तिक २०८२ ०८:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App