२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

‘ग्रे लिस्ट’ मा रहेको नेपाल अब ‘ब्ल्याक लिस्ट’ मा परे अर्थतन्त्र नै सकिन्छ: डा. लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले मुलुक गम्भीर आर्थिक संकटको संघारमा रहेको बताएका छन्।

बुधबार नागरिक न्युजको ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा बोल्दै उनले आर्थिक अनुशासनहीनताका कारण नेपाल ‘ग्रे लिस्ट’ मा परेको र यसलाई नसच्याए अर्थतन्त्र नै ध्वस्त हुने बताएका हुन्।

डा. लोहनीले भने, ‘मनी लाउन्डरिङ र आर्थिक अनुशासनहीनताका कारण नेपाल ‘ग्रे लिस्ट’ मा परिसकेको छ। यदि हामी ‘ब्ल्याक लिस्ट’ मा पर्‍यौँ भने हाम्रो अर्थतन्त्र नै सकिन्छ, हामी रोकिन्छौं। यसको जिम्मेवारी कसले लिने ?’

उनले सत्तामा बस्नेहरूले अर्बौँ रुपैयाँ नतिर्ने नेपाल वायुसेवा निगमजस्तो संस्थालाई लाजमर्दो अवस्थामा पुर्‍याएको टिप्पणी गरे। ‘पर्यटन प्रवर्द्धन गर्ने भन्छौँ, तर राष्ट्रिय ध्वजावाहकको हालत खराब छ, ३० लाख पर्यटक कसरी ल्याउने ?’ उनले प्रश्न गरे।

डा. लोहनीले नेपालका राजनीतिक दलहरूले अबलम्बन गरेको नवउदारवाद र समाजवादलाई ‘प्रेत अर्थशास्त्र’ को संज्ञा दिए। उनले भने, ‘अहिलेको व्यवस्था न उदारवाद हो, न समाजवाद। यो त ‘प्रेत अर्थशास्त्र’ हो। जसले भएका उद्योगधन्दा सिध्यायो र युवालाई विदेश लखेट्यो।’

पूर्व अर्थमन्त्री समेत रहेका लोहनीले सत्तामा पुगेपछि देशको लागि नभई आफ्नो र भरौटेहरूको लागि कमाउने संस्कार बसेको आरोप लगाए।

‘जसरी हुन्छ कमिसन खाने, सत्ताको दोहन गर्ने र देशलाई खोक्रो बनाउने काम भइरहेको छ,’ उनले भने, ‘कृषिबाट उद्योग र उद्योगबाट सेवा क्षेत्रमा जानुपर्नेमा, हामी उद्योग नै विनाश गरेर केवल रेमिट्यान्सको भरमा बाँच्ने परजीवी अर्थतन्त्रमा फसेका छौँ।’

उनले नेपालको बैंकिङ र वित्तीय क्षेत्रमा आफू अर्थमन्त्री हुँदा २०४० को दशकमा ल्याएको उदारीकरणले नै आजको अर्थतन्त्र धानिएको दाबी गर्दै अहिलेका शासकहरूले त्यसलाई सही दिशा दिन नसकेको जिकिर गरे।

प्रकाशित: २१ माघ २०८२ २०:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App