नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले समय दिन नसकेपछि सोमबार (आज) गर्ने भनिएको ‘बृहत पार्टी एकता सन्देशसभा’ स्थगित भएको छ। नेकपा उदयपुरको ‘बृहत पार्टी एकता सन्देशसभा’ स्थगित भएको हो।
जानकारी अनुसार पार्टी केन्द्रीय सदस्यको सपथग्रहण कार्यक्रम आजै परेकाले संयोजक प्रचण्ड आउन नभ्याउने भएपछि कार्यक्रम स्थगित गर्नु परेको हो।
विभिन्न १७ दलहरु मिलेर बनेको नेकपाको एकीकरण सन्देश जनतालाई दिन देशव्यापी ‘एकता सन्देशसभा’ गरिरहेको पार्टीले उदयपुरमा पुस २८ गते राखेको थियो। त्यसका लागि सम्पूर्ण तयारी भइसकेको भए पनि अचानक संयोजक प्रचण्डले समय दिन नभ्याउने खबर आएकाले स्थगित गर्नु परेको नेकपा कार्यदल सदस्य द्रोण पौडेल (निरज)ले बताए।
उनका अनुसार कार्यक्रमका लागि गाईघाट बजारस्थित लोकतान्त्रिक (पिपल) चोकमा मञ्च व्यवस्थापनदेखि गाउँगाउँबाट सहभागी आउन प्रचारप्रसार भइरहेको थियो। त्यसैगरी र्याली, झाँकी, मार्चपासलगायत सम्पूर्ण तयारी भइरहेकोमा केन्द्रीय समितिको सपथ ग्रहण परेकाले कार्यक्रम स्थगित गर्नु परेको साविक माओवादी केन्द्र जिल्ला संयोजकसमेत रहेका पौडेलले बताए।
नेकपाकी केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सम्झना पाख्रीन (योद्धा)का अनुसार उदयपुरका ८ स्थानीय तहमध्ये सदरमुकाम त्रियुगाबाहेक सबै पालिकामा सन्देशसभा सकिइसकेको जानकारी दिइन्। बाँकी त्रियुगाको सँगै जिल्लास्तरीय सभा एकै ठाउँ गर्ने तय भएकोमा संयोजकको कार्य व्यस्तताले रोक्नुपरेको पाख्रीनले बताइन्।
स्थगित भएको कार्यक्रम कहिले गर्ने भन्ने हाललाई टुंगो लागेको छैन। तयारी पूरा भएको कार्यक्रम रोक्नुपरे पनि अब कहिले गर्ने भन्ने कुरा अनुकूल समय पारेर गरिने नेकपा त्रियुगा नगर कमिटी अध्यक्ष मानबहादुर राईले बताए। संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालकै उपस्थितिमा गर्ने तय भएकाले नेताद्वयको समय मिलाएर मात्र सभा गर्ने गरी कार्यदलले निर्णय गर्ने राईले जानकारी दिएका छन्।
प्रकाशित: २८ पुस २०८२ १३:२९ सोमबार





