नेपाली कम्युनिस्ट पार्टी ले विभिन्न ४९ वटा विभाग तथा मोर्चाको जिम्मेवारी बाँडफाँट गरेको छ । पार्टीको केन्द्रीय कार्य–संयोजन समितिको गत चैत १९ गतेदेखि वैशाख १५ गतेसम्म बसेको बैठकको निर्णय कार्यान्वयनका लागि जारी अन्तरपार्टी निर्देशन (अपानी)–३ मार्फत विभागीय प्रमुख तथा उपप्रमुख तोकिएका हुन् ।
निर्देशनअनुसार अनुगमन तथा मूल्याङ्कन विभागको प्रमुखमा नारायणकाजी श्रेष्ठ चयन भएका छन् भने अन्तर्राष्ट्रिय सम्बन्ध विभागको जिम्मेवारी प्रमेश कुमार हमालले पाएका छन् । वामदेव गौतम लाई उद्यमशीलता तथा उत्पादन विभागको प्रमुख बनाइएको छ भने प्रचार विभागको नेतृत्व रेखा शर्मा ले सम्हाल्ने भएकी छन् ।
यसअघि सुदूरपश्चिम प्रदेशको सहइञ्चार्जको जिम्मेवारीमा रहेकी रञ्जिता श्रेष्ठलाई कृषि तथा भूमि व्यवस्था विभागको प्रमुख बनाइएको छ । राष्ट्रिय हित सुरक्षा विभागको जिम्मेवारी कृष्णबहादुर महरा लाई दिइएको छ ।
संगठन विभागको प्रमुखमा वर्षमान पुन नियुक्त भएका छन् भने प्रवास प्रदेश समन्वय समितिको जिम्मेवारी पम्फा भुसाल ले पाएकी छन् ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल ले हस्ताक्षर गरेको अपानी–३ अनुसार नीति अध्ययन अनुसन्धान प्रतिष्ठानको प्रमुखमा राजेन्द्र श्रेष्ठ, स्थानीय तह विभागमा अग्नि सापकोटा, श्रम तथा रोजगार विभागमा गरिमा शाह तथा शिक्षा विभागमा गिरीराजमणि पोखरेल लाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै डा. बेदुराम भुसाल लाई पार्टी स्कुल विभागको प्रमुख बनाइएको छ भने विना मगर ले खानेपानी तथा सरसफाइ विभागको जिम्मेवारी पाएकी छन् ।
प्रकाशित: २६ वैशाख २०८३ २१:३३ शनिबार





