३२ असार २०८३ बिहीबार
image/svg+xml
राजनीति

दलाल नोकरशाही पुँजीवाद विरुद्ध सङ्घर्ष गर्ने नेकपाको निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवाद विरुद्धको सङ्घर्षलाई सशक्त बनाउने निर्णय गरेको छ।

मङ्गलबार पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले सामन्तवादका अवशेषहरू अन्त्य गर्दै समाजवादको लक्ष्यमा अघि बढ्ने सङ्कल्प गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पार्टी प्रवक्ता प्रकाश ज्वालाले राष्ट्रिय स्वाधीनता, समृद्धि र सामाजिक न्यायसहितको समाजवाद प्राप्तिका लागि पार्टीले आफ्नो रणनीतिलाई थप मजबुत बनाएको जानकारी दिए।

‘हामी सामन्तवादका अवशेषहरूको अन्त्य गर्दै दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवाद विरुद्ध सङ्घर्ष गर्न प्रतिबद्ध छौं,’ ज्वालाले भने, ‘राष्ट्रिय स्वाधीनता र समृद्धिको पक्षमा दृढताका साथ अघि बढ्ने सङ्कल्प बैठकले दोहोर्‍याएको छ।’

बैठकले भूमिहीन सुकुम्वासीका समस्या समाधानका लागि सरकारले चालेको कदमप्रति समेत चासो व्यक्त गरेको छ। उचित विकल्प र व्यवस्थापन विना सुकुम्वासी बस्ती हटाउने कार्यको पार्टीले विरोध गरेको प्रवक्ता ज्वालाले ;सुनाए।

सुकुम्वासी समस्या समाधानका लागि पहिले वास्तविक र नक्कलीको पहिचान हुनुपर्ने र त्यसपछि मात्रै विकल्पसहित व्यवस्थापन गरिनुपर्ने नेकपाको माग छ।

यसैगरी, बैठकले हालै सम्पन्न निर्वाचनमा सहयोग गर्ने मतदाता र शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गर्दै पार्टीको सांगठनिक कार्यविभाजन र आगामी कार्ययोजनाका विषयमा समेत महत्त्वपूर्ण निर्णयहरू गरेको प्रवक्ता ज्वालाले जानकारी दिए।

सरकारका जनपक्षीय कामको समर्थन र संविधान विपरीतका कदमको पार्टीले विरोध गर्ने नीति समेत तय गरेको छ।

प्रकाशित: १५ वैशाख २०८३ १८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App