कोशी प्रदेशमा नेकपा र एमालेबिच नयाँ सरकार गठनका विषयमा देखिएको मन्त्रालय बाँडफाँडको विवाद मिलेको छ।
सरकारमा सहभागी हुन नेकपाले माग गरेबमोजिमको मन्त्रालय दिन नेकपा एमाले तयार भएपछि मन्त्रालय बाँडफाँडको विवाद मिलेको हो।
नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले शुक्रबार दुवै पार्टीका प्रदेशका अध्यक्ष र संसदीय दलका नेताहरूको बैठकले कुन पार्टीले कति मन्त्रालय लिने भन्ने संख्या टुंगो लागेको बताएका छन्।
उनका अनुसार एमालेले मुख्यमन्त्रीसहित ५ र नेकपाले ४ वटा मन्त्रालय पाउने टुंगो लागेको छ। मन्त्रालयको संख्या टुंगो लागेपनि कुन-कुन मन्त्रालय कुन–कुन दलले लिने भन्ने विषय टुंगो नलागेको आङ्वोले बताए।
उनले मन्त्रालयको विषय पनि चाँडै टुंगो लाग्ने दाबी गरेका छन्। शुक्रबारको बैठकले दुवै दलले पाउने मन्त्रालयको टुंगो लगाएर सोमबारसम्ममा सरकार विस्तार गर्ने समझदारीसमेत दुवै दलले गरेका छन्।
मन्त्रालयको संख्या टुंगो लागिसकेका कारण नेकपाले लिने मन्त्रालय र को-को मन्त्री बन्ने भन्ने विषयमा निर्णय गर्न शनिबार नेकपा संसदीय दलको बैठक राखिएको नेकपा संसदीय दलकी सचेतक सपना दर्जीले जानकारी दिइन्।
प्रकाशित: २९ श्रावण २०८३ २०:३८ शुक्रबार


-600x400.jpg)


