राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वी तराई–मधेशका केही क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक सद्भाव कायम गर्न सबै पक्षलाई आह्वान गरेका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत क्षेत्रमा भएको हिंसात्मक घटनामा मानवीय क्षति हुनु, सर्वसाधारण र सुरक्षाकर्मी घाइते हुनु तथा सामाजिक तनाव सिर्जना हुनु दुःखद भएको बताए। उनले घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
अध्यक्ष दाहालले नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समाजलाई आत्मसात् गर्दै विविधताबीचको एकता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई संरक्षण गर्ने परिकल्पना गरेको उल्लेख गरे। उनले हिंसा, घृणा, साम्प्रदायिक विभेद वा सामाजिक विभाजन निम्त्याउने कुनै पनि गतिविधि अस्वीकार्य रहेको स्पष्ट पार्दै असन्तुष्टि वा विवादको समाधान संविधान, कानुन, संवाद र लोकतान्त्रिक प्रक्रियाबाट मात्र सम्भव हुने धारणा व्यक्त गरे।
उनले राष्ट्रिय सभा संविधान, लोकतान्त्रिक मूल्यमान्यता, राष्ट्रिय एकता र सामाजिक सद्भावको संरक्षण तथा प्रवर्द्धनप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै राष्ट्रिय सरोकारका विषयमा संवाद, सहमति र सहकार्यलाई अघि बढाउनु सभाको संवैधानिक दायित्व भएको बताए। उनले सम्पूर्ण नागरिकलाई शान्ति, आपसी विश्वास, सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरे।
अध्यक्ष दाहालले घटनाको तत्काल निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न, पीडितलाई न्याय दिलाउन, उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्। यस्तै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कानुनी, प्रशासनिक र सुरक्षा उपाय प्रभावकारी रूपमा लागू गर्न तथा घटनाबारे यथार्थ विवरण सार्वजनिक गरी नागरिकमा शान्ति, सुरक्षा र विश्वासको वातावरण कायम गर्न पनि उनले सरकारलाई अनुरोध गरेका छन्।
सम्बोधनका क्रममा अध्यक्ष दाहालले राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा, बुद्धिजीवी, मानवअधिकारकर्मी, सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता, निजी क्षेत्र तथा सम्पूर्ण नागरिकलाई राष्ट्रिय हितलाई सर्वोपरि राख्दै शान्ति, संवाद, भाइचारा र सामाजिक एकताको वातावरण निर्माणमा सक्रिय भूमिका खेल्न अपिल गरे। साथै, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक वा उत्तेजक सामग्रीको प्रचार–प्रसार नगरी प्रमाणित र आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न पनि उनले आग्रह गरेका छन्।
अन्त्यमा अध्यक्ष दाहालले संविधानको मर्म, लोकतान्त्रिक मूल्य, सामाजिक सद्भाव र राष्ट्रिय एकताको संरक्षण तथा प्रवर्द्धनमा राष्ट्रिय सभा सधैं प्रतिबद्ध रहने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित: १५ श्रावण २०८३ १६:१७ शुक्रबार





