१५ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

राजु पाण्डेको प्रश्न: काम नगर्ने ठेकेदारलाई संरक्षण गर्ने कि कारबाही ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले विकास निर्माणका आयोजनामा निर्माण व्यवसायीको म्याद पटक-पटक थप गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई पटक-पटक म्याद थपेर संरक्षण गर्नु सुशासनको बर्खिलाप भएको टिप्पणी गरे।

उनले राष्ट्रिय योजना आयोगले प्रस्तुत गर्ने आयोजनाका विवरणहरूमा स्पष्ट समयावधि उल्लेख हुनुपर्नेमा जोड दिए।

‘आयोजनाको अवधि पटक-पटक थप्ने र ठेकेदारलाई छोडिदिने प्रवृत्ति नै कुशासनको पराकाष्ठा हो,’ पाण्डेले भने, ‘पाँच वर्षमा सकिनुपर्ने काम २० वर्ष र दुई वर्षको काम १० वर्षसम्म लम्बिनुले राज्यलाई ठुलो आर्थिक भार थपिएको छ। यसमा सम्बन्धित निकाय गम्भीर हुनुपर्छ।’

काठमाडौं क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद पाण्डेले आफ्नो निर्वाचन क्षेत्र गोकर्णेश्वरमा मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्याबारे पनि प्रश्न उठाए।

मेलम्चीको पानी गोकर्णेश्वर हुँदै काठमाडौं वितरण गरिए पनि सोही क्षेत्रका बासिन्दा भने काकाकुल हुनुपर्ने विडम्बनापूर्ण स्थिति रहेको उनले सुनाए।

उनका अनुसार वि.सं. २०७७ सालमा ठेक्का सम्झौता भएको २ करोड लिटर क्षमताको पानी ट्याङ्की निर्माणको काम हालसम्म २८ प्रतिशत मात्रै सम्पन्न भएको छ। आयोजनामा भएको ढिलासुस्तीका कारण स्थानीय बासिन्दा आक्रोसित भएको उनले जानकारी दिए।

सांसद पाण्डेले स्थानीय बासिन्दाले माग पूरा नभए आफ्नो क्षेत्रबाट काठमाडौंका अन्य भागमा जाने पानी अवरुद्ध गर्ने चेतावनी दिएको उल्लेख गर्दै खानेपानी मन्त्रीको ध्यानाकर्षण गराए।

उनले भने, ‘जनताले परिवर्तन खोजेका छन् र मुख्य परिवर्तन विकासका आयोजना समयमै सम्पन्न हुनु हो। यस विषयमा म मन्त्रालयसँग समन्वय गरिरहेको छु, सरकारले यसलाई गम्भीरतापूर्वक लिओस्।’

प्रकाशित: १५ वैशाख २०८३ १५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App