पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ को घटनामा ठुलो संख्यामा युवाहरूको ज्यान गएपछि आफू विक्षिप्त बनेको र सोही पीडाका कारण राजीनामा दिएको बताएका छन्।
भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग समक्ष सोमबार बयान दिँदै उनले आन्दोलनमा भएको मानवीय क्षतिले आफूलाई भित्रैदेखि हल्लाएको उल्लेख गरेका हुन्।
आयोगलाई बुझाएको लिखित जवाफमा उनले पदमा टाँसिरहन आफ्नो नैतिकताले नदिएको जिकिर गरेका छन्।
‘भदौ २३ को हृदयविदारक घटनामा होनहार युवाहरूको ज्यान गएको र कैयौं घाइते बनेको अवस्थाले मलाई मर्माहत मात्र बनाएन, मेरो मन छियाँछियाँ हुन पुग्यो,’ लेखकले भनेका छन्, ‘यस्तो अकल्पनीय घटना भएको अवस्थामा गृहमन्त्रीको हैसियतले नैतिक जिम्मेवारी लिँदै मैले तत्काल राजीनामा गर्ने निर्णय लिएँ।’
उनले आफूले राजीनामा पत्रमा समेत पीडा भएर नैतिकताको आधारमा राजीनामा गर्छु भनी उल्लेख गरेको स्मरण गराएका छन्। राजनीतिमा नैतिकता सबैभन्दा मूल्यवान् विषय हुने भन्दै उनले ठुलो पीडाबोध भएपछि ‘मोरल रेस्पोन्सिबिलिटी’ लिएर मार्गप्रशस्त गरेको बताए।
घटनाक्रममा आफ्नै घरमा आगजनी हुँदा र त्यसको तनावले बिरामी आमाको निधन हुँदाको पीडालाई समेत आफूले गौण मानेको उनले बताएका छन्।
‘पितापुर्खाको सम्पत्ति खरानी बनाइदिँदाको पीडा ‘खुकुरीको मार अचानोलाई मात्र थाहा हुन्छ’ भनेजस्तै भएको छ,’ लेखकले बयानमा भनेका छन्, ‘तर पनि सिंगो देश नै खरानी बनाइएका बेला मेरो व्यक्तिगत पीडालाई मैले गौण ठानेको छु।’
लोकतन्त्र र नागरिक स्वतन्त्रताका लागि लामो संघर्ष गरेको व्यक्ति भएकाले नागरिकमाथि गोली चलाउने वा दमन गर्ने आदेश आफूले कहिल्यै नदिएको र दिन पनि नसक्ने उनले आयोगसमक्ष स्पष्ट पारेका छन्।
प्रकाशित: १४ पुस २०८२ १५:४६ सोमबार




-600x400.jpg)
