२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

‘मेरो कपाल फुलेर सेतो भयो, हिमाल पग्लिएर कालो भयो’

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण नेपालका सेता हिमालहरू पग्लिएर कालो चट्टानमा परिणत भएको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएका छन्।

जलवायु परिवर्तनमा नेपालको कुनै गल्ती नहुँदा पनि अरुको परिणाम भोग्नुपरेको भन्दै उनले जलवायु न्यायको माग गरे।

तुर्कमेनिस्तानको अवाजा शहरमा जारी भूपरिवेष्टित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलन अन्तर्गत ‘हिमनदी पग्लनु र त्यसपछिका चुनौती’ विषयक एक विशेष कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भावुक हुँदै भने, ‘जब म बच्चा थिएँ, मेरो गृहनगरबाट सेता हिमाल देखिन्थे। आज मेरो कपाल फुलेर सेतो हुँदा ती सेता हिमालहरू पग्लिएर काला चट्टानमा परिणत भएका छन्।’

उनले थपे, ‘कहिलेकाहीँ म सोच्छु, हामीले यस्तो के गल्ती गर्‍यौँ होला ? तर हामीले कुनै गल्ती गरेका छैनौँ, हामी त केवल अरुको गल्तीको परिणाम भोगिरहेका छौँ। हाम्रो कार्बन उत्सर्जन नगण्य छ, तर हामी जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित भइरहेका छौँ।’

प्रधानमन्त्री ओलीले हिमालहरू अर्बौं मानिसका लागि पानी र जीवनयापनको स्रोत मात्र नभई नेपालको पहिचान, राष्ट्रिय गौरव र भविष्य भएको बताए। ‘हिमाल र महासागर एक अर्कासँग जोडिएका छन् र एक अर्कालाई रिचार्ज गर्छन्। हिमाल पृथ्वीको ‘कुलिङ सेन्टर’ (शीतलता केन्द्र) हो, तर दुर्भाग्यवश, यो हराउँदैछ,’ उनले सुनाए।

हिमनदी पग्लनु नेपालका लागि वातावरणीय चिन्ता मात्र नभई विकास, सुरक्षा र अस्तित्वमाथिकै निरन्तरको खतरा भएको उनले सुनाए। हालै जुलाई ८ मा रसुवाको लेन्दे खोलामा सफा मौसममै हिमतालीय विस्फोटन हुँदा आएको विनाशकारी बाढीले नेपाल-चीन जोड्ने पुल बगाएको स्मरण गराए।

‘नेपालमा २,०७० भन्दा बढी हिमतालहरू छन्, जसमध्ये २१ वटा खतरनाक मानिएका छन्। यसले हाम्रो कृषि, जलविद्युत, पर्यटन र जैविक विविधतामाथि बढ्दो जोखिम सिर्जना गरेको छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले वैज्ञानिक तथ्यहरूले शताब्दीको अन्त्यसम्ममा हिमालय क्षेत्रले दुई तिहाइ हिमनदी गुमाउन सक्ने देखाएको भन्दै चिन्ता व्यक्त गरे। उनले विश्व समुदायसमक्ष हिमाल बचाउन कसरी सहकार्य गर्ने, जलवायु वित्त संस्थाहरूले कसरी सहयोग गर्न सक्छन् र स्रोत, क्षमता र प्रविधिको खाडल कसरी पुर्ने जस्ता गम्भीर प्रश्नहरू उठाए।

प्रधानमन्त्री ओलीले ठोस र सामूहिक कार्यबाट हिमाललाई बचाउन सकिनेमा आशा व्यक्त गर्दै भने, ‘हिमालको आवाज पग्लिरहेको हिउँमुनि हराएर नजाओस्, बरु विश्वव्यापी जलवायु न्यायको लागि प्रेरणा दिन सकोस् भनेर काम गर्न नेपाल तयार छ।’

प्रकाशित: २२ श्रावण २०८२ १६:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App