नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया सुरु हुँदै गर्दा पहिलो पटक व्यवस्था गरिएको ‘अपाङ्गता क्लस्टर’ चर्चामा छ।
नीति निर्माण तहमा अपाङ्गता भएका व्यक्तिहरूको सवाल स्थापित गराउने उद्देश्यसहित कृष्ण गौतमले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
एमालेले यस महाधिवेशनमा पहिलो पटक विधानत अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्न छुट्टै क्लस्टरको व्यवस्था गरेको हो।
सोही क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका गौतमले नागरिकन्युजसँगको कुराकानीमा आफ्नो उम्मेदवारी केवल पदका लागि मात्र नभई एउटा समुदायको आवाजका लागि भएको बताए।
‘नेकपा एमालेले पहिलो पटक अपाङ्गता भएका व्यक्तिहरूलाई पनि प्रतिनिधित्व दिनका लागि छुट्टै क्लस्टर छुट्याएको छ। यो कोटा सुनिश्चित गर्दै संगठनको तर्फबाट नीतिगत तहमा काम गर्न मैले उम्मेदवारी दिएको हुँ,’ एमालेको भ्रातृ संगठन राष्ट्रिय अपाङ्गता संगठन नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका गौतमले भने।
रुकुममा जन्मिएका ४७ वर्षीय गौतमको स्थायी घर बाँकेको कोहलपुर हो भने हाल उनी काठमाडौंको कीर्तिपुरमा बसोबास गर्छन्।
साढे दुई वर्षको कलिलो उमेरमा पोलियो लागेर शारीरिक अपाङ्गता भएका उनले भौगोलिक विकटताका कारण रुकुममा पढ्न नपाएपछि बाँके झरेर संघर्ष गरेको विगत सुनाए।
विगत २३ वर्षदेखि एमालेको राजनीतिमा सक्रिय गौतमले अपाङ्गता भएका व्यक्तिहरू पनि मूलधारको राजनीतिमा आउनुपर्ने मान्यता राख्छन्।
‘पार्टी पङ्क्तिलाई अपाङ्गताको सवाल र संवेदनशीलताका बारेमा बुझाउन र राज्यको नीति निर्माणमा हाम्रो समुदायको पहुँच पुर्याउन नै म राजनीतिमा होमिएको हुँ,’ उनले सुनाए।
प्रकाशित: १ पुस २०८२ १५:१४ मंगलबार




-600x400.jpg)
