सडक स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले मुग्लिन-नागढुंगा सडक खण्ड भोलिदेखि तीन दिन राति बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै भोलिदेखि तीन दिनसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म यस खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने जनाएको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार मुग्लिन–नागढुङ्गा सडक योजना अन्तर्गत अहिले चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर-४ स्थित घोप्टेभिर लगायतका स्थानमा काम भइरहेको छ।
दिउँसोको समयमा अत्यधिक सवारी चाप हुने भएकाले काम गर्न असहज भएपछि प्रशासनले रात्रिकालीन समय रोजेको बताएको छ।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले सूचनामार्फत यात्रुहरूलाई पर्न सक्ने असुविधाप्रति ध्यानाकर्षण गराएका छन्।
सडक बन्द हुने समयलाई ध्यानमा राखेर मात्र आफ्नो यात्रा तय गर्न उनले यात्रुहरूलाई आग्रह गरेका छन्।
प्रकाशित: १६ चैत्र २०८२ १८:४९ सोमबार





