नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार हमालले वर्तमान सरकारले विधि, सुशासन, पारदर्शिता र जवाफदेहितालाई बेवास्ता गर्दै शासन सञ्चालन गरिरहेको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै हमालले सरकारले आफूलाई तीव्र गतिमा काम गरिरहेको देखाए पनि संस्थागत प्रक्रिया र कानुनी विधिलाई बेवास्ता गरेको टिप्पणी गरे।
‘वर्तमान सरकारले हाइवेमा एक्सप्रेस गाडी चलाएर अघि बढिरहेको दाबी गरेको छ। तर सरकारलाई विधि–विधानको लेन मार्किङको अनुभूति छैन, न त रोड लाइटकै वास्ता छ,’ उनले भने।
डिजिटलाइजेसन र कृत्रिम बुद्धिमत्ता (एल्गोरिदम) को चर्चा भइरहेका बेला सरकारको निर्णय प्रक्रिया स्वतन्त्र छ कि छैन भन्ने प्रश्न उठाउँदै उनले सरकारको शैली ‘अटो ड्राइभ’मा चलेको गाडीजस्तो देखिएको टिप्पणी गरे।
‘डिजिटलाइजेसन र एल्गोरिदमको कुरा भइरहेको छ। म प्रश्न गर्न चाहन्छु, कतै सरकारको गाडी अटो ड्राइभमा त छैन ? सरकार प्रमुख चालकको सिटमा हुनुहुन्छ, तर त्यसको सफ्टवेयर र एल्गोरिदम कसैले सञ्चालन गरिरहेको त छैन?’ उनले प्रश्न गरे।
सांसद हमालले सुशासनको नारासहित गठन भएको सरकारले व्यवहारमा भने प्रतिशोधपूर्ण शैली अपनाएको आरोप लगाए। सरकारका केही गतिविधिले नागरिकमा त्रासको वातावरण सिर्जना गरेको उनको भनाइ थियो।
‘सुशासनको आधारमा बनेको भनिएको सरकारले कतिपय गतिविधि प्रतिशोधपूर्ण ढंगले गरिरहेको देखिन्छ। नागरिकलाई आतंकित बनाउने काम भइरहेको छ,’ उनले भने।
उनले सरकार ‘पहिला थुन्ने, पछि जे पर्छ त्यही हेर्ने’ भन्ने नीतिमा अघि बढेको जस्तो देखिएको उल्लेख गर्दै त्यसले सुशासनमाथि गम्भीर प्रश्न उठाएको बताए।
‘पहिला थुन्ने, पछि जे पर्छ त्यही हेर्ने भन्ने नीति सरकारले अवलम्बन गरेको जस्तो देखिन्छ। सुशासनको मापदण्ड सत्ता पक्षका लागि पनि समान रूपमा लागू हुनुपर्छ। सरकार प्रमुखदेखि मन्त्री र सांसदसम्म सबै पारदर्शी र जवाफदेही हुनुपर्छ,’ उनले भने।
सांसद हमालले अन्त्यमा सरकारलाई विधिको शासन, पारदर्शिता र सार्वजनिक जवाफदेहिताप्रति प्रतिबद्ध भएर अघि बढ्न आग्रह गरे।
प्रकाशित: २५ असार २०८३ २०:३८ बिहीबार




