युवा विद्यार्थी विदेश जाँदा नेपालका क्याम्पस खाली देखिन थालेका कारण स्वदेशमै बस्ने वातावरण बनाउन राष्ट्रियसभाका सांसदले जोड दिएका छन्।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद भुवनबहादुर सुनारले उच्च शिक्षा पढ्ने सबै विद्यार्थी विदेश गएका कारण क्याम्पसमा झार उम्रन थालेकोले नेपालमै बसेर पढ्ने वातावरण बनाउन माग गरेका छन्। देशमै केही हुन्छ भन्ने भावनाको विकास गरी विदेश जाने विद्यार्थीलाई रोक्नुपर्ने उनको भनाइ थियो।
सांसद नारायणदत्त भट्टले गौरीफन्टा नाका यथाशीघ्र सञ्चालन र झुलाघाटको पुल निर्माणका लागि प्रधानमन्त्रीको भारत भ्रमणका बेला प्रक्रिया अघि बढाउन माग गरे। ठूलो दल भएर पनि नेपाली कांग्रेसले त्याग गरेको उल्लेख गर्दै यसबाट पाठ सिक्न सबै दललाई आह्वान गरे।
सांसद गंगाकुमारी बेल्वासेले चाडपर्वको मौसम सुरु भएकाले पूर्व पश्चिम, उत्तर दक्षिणका सडक मार्ग मर्मत गर्न माग गरे। सडकमा बनेका खाल्डाखुल्डी पुरेर चाडबाडको आवागमन सहज बनाउन पनि उनले सरकारको ध्यानाकर्षण गराइन्। तातोपानी, रसुवागढी नाका बन्द भएको नाममा बजारमा विकृति देखिएकोले अनुगमन गरी बजारलाई सहज बनाउनुपर्ने पनि सांसद बेल्वासेको भनाइ थियो।
सांसद इन्दिरा गौतमले जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न सबै जिम्मेवार हुनुपर्नेमा जोड दिइन्। सकारात्मक कुरालाई पनि केही भएको छैन भनी गलत प्रचार गर्न नहुने उनको भनाइ थियो। रासस
प्रकाशित: ३ भाद्र २०८२ १७:५४ मंगलबार





