२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

सदन छाडेर हिँड्नेलाई सांसद चौधरीको च्यालेन्ज: ‘आउनुस्, आमनेसामने बहस गरौं !’

सांसद शान्ति चौधरीले अदालत, सांसद र प्रहरी प्रशासनलाई नमान्ने प्रवृत्तिप्रति आपत्ति जनाएकी छिन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले सदन बहिस्कार गरेको घटनाप्रति लक्षित गर्दै यस्तो बताएकी हुन्।

‘यहाँ अदालतलाई नमान्ने, सांसदलाई नमान्ने, प्रहरी प्रशासनलाई नमान्ने, कसलाई मान्ने सभामुख महोदय ?’  उनले प्रश्न गरिन्। उनले जनताले स्वीकारेको व्यवस्थालाई विघटन गर्न दिनहुँ हस्तक्षेप भइरहेको भन्दै त्यसको भर्त्सना गरिन्।

‘हुन त यो व्यवस्था ल्याउनका लागि उहाँहरुको न बलिदान छ, न कुनै संघर्ष छ, न कुनै देन छ,’ उनले भनिन्, ‘आज उही व्यवस्थालाई, जनताले स्वीकारेको व्यवस्थालाई विघटन गर्नका लागि जुन आवाजहरु दिनदहाडै यहाँ हस्तक्षेप भइरहेको छ, यसको म घोर विरोध गर्न चाहन्छु।’ 

सांसद चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमा हुन लागेको भारत भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दै भ्रमणको एजेण्डामा नेपालगञ्ज-दिल्ली सीधा हवाई उडानको विषय समावेश गर्न माग गरेकी छिन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा निकट समयभित्र छिमेकी मुलुक भारत भ्रमण जाने कुरा निश्चित भएको छ,’ उनले भनिन्, ‘भारत भ्रमणमा जाँदा नेपालगञ्ज-दिल्ली सीधा उडान अनुमति प्राप्त गर्ने विषय भारत भ्रमणको एजेण्डा बनाउन सभामुखमार्फत सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु।’ 

प्रकाशित: ४ भाद्र २०८२ १६:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App