१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मोहनमायाको राजनीतिः उपमेयरबाट मेयर, केन्द्रीय सदस्यबाट पोलिटव्यूरोमा नजर

नेकपा (एमाले)को जारी ११औं महाधिवेशनमा आजदेखि बन्दसत्रको कार्यक्रम सुरु भएको छ। नेतृत्व छान्ने महाधिवेशन भएकाले आम नेताकार्यकर्ता र जनताले यो महाधिवेशनलाई चासोपूर्वक हेरेका छन्।

यो महाधिवेशनमा कोही दोहोरिन लागि परेका छन् भने कोही नयाँ भित्रन लागिपरेका छन्। यसै मध्येकी एक हुन् १० औं महाधिवेशनमा केन्द्रीय सदस्य जितेकी मोहनमाया ढकाल।

उनी कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख हुन्। केन्द्रीय सदस्यमा डेब्यू गर्दा उनी उपमेयर थिइन्। अनेरास्ववियुको राजनीतिबाट एमालेसँग नजिकिएकी उनले छोटो समयमा नै आफ्नो व्यक्तित्व र नेतृत्व विकासको अवसर पाइन्। त्यति मात्र नभइ संसदीय मोर्चाको रूपमा रहेको स्थानीय सरकारको उपप्रमुख हुँदै प्रमुख भएर कार्यसम्पादन गर्दै आएकी उनी पार्टी काममा पनि उत्तिकै सक्रिय छिन्।

कुनै पनि जनप्रतिनिधि सफल हुनका लागि उसका राजनीतिक चेतना, पार्टीप्रतिको लगाव निरन्तरता, पार्टीको मुल एजेण्डा, नेतृत्वको लाइन जस्ता विषयहरूको आधारभूत जानकारी हुनुपर्दछ। ढकाल यस्ता विषयमा संवेदनशील छिन्। ‘हामीलाई समाजमा चिनिन सक्ने पार्टीले नै बनाएको हो ’ ढकाल भन्छिन्, ‘जनप्रतिनिधि पार्टीले नै बनायो। यो गरिमालाई बुझ्नका लागि पार्टीका आधारभूत मान्यता र सिद्धान्तको जानकार हुनै पर्दछ।’

२०७७ पुष ५ को घटनापछि एमालेको केन्द्रीय राजनीतिमा पाइला राखेकी ढकाल यो महाधिवेशन मार्फत दोस्रो कार्यकालका लागि केन्द्रीय सदस्यमा दाबी गरेकी छिन्। नेतृत्व विकासका लागि निरन्तरता आवश्यकता रहेको बताउने उनी पार्टीले आफ्नो कामको मूल्यांकन गर्ने कुरामा ढुक्क छिन्। त्यसमा पनि कर्णाली भूगोलबाट राजनीतिक आकासमा उदाउँदै गरेकी उनी पार्टीले कर्णालीका जुनसुकै जिल्लाको जिम्मेवारी दिए पनि निर्वाह गर्न तयार रहेको बताउँछिन्। ‘पार्टी र सामाजिक फोरममा महिलाका मुद्धा उठाउन,कर्णालीका मुद्धा उठाउन मेरो उम्मेदवारी जरुरी छ,’ ढकालले भनिन्, ‘अघिल्लो कार्यकालको अनुभवले मलाई पार्टीले अंगालेका जनजीविकाका सवाल, राजनीतिक, सामाजिक विषय आदिलाई नजिकबाट जान्ने मौका पाएकी छु। त्यो अनुभवलाई आगामी कार्यकालमा पूर्ण रूपमा कार्यान्वयन गर्नेछु।’

पार्टीले सञ्चालन गरेका महाअभियानहरू मिसन ग्रासरुट, समृद्धिका लागि मध्यपहाडी यात्रा, वडा केन्द्रित अभियान आदिमा ढकालको भूमिका महत्वपूर्ण थियो। यस अवधीमा कहिले सुर्खेतको सहइन्चार्ज त कहिले क्षेत्र नं २ को इन्चार्जको भूमिकामा उनी रहिन्। एघारौं महाधिवेशनका प्रतिनिधि छनौट गर्ने विषयमा पनि अन्यतिर विवाद हुँदा उनको जिम्माको क्षेत्रमा निर्विरोध भयो। ‘म पार्टीको मुल लाइन बचाउदै समन्वयकारी भूमिका निर्वाह गर्न सक्छु,’ ढकाल भन्छिन्, ‘कार्यकर्ताले खोजेको नेतृत्व पनि यस्तै हो।’

भदौ २४ को विध्वंस र तोडफोडमा ढकालको घर पनि निशानामा पर्यो। उनलाई केपी ओलीको कार्यकर्ता र नगरप्रमुख भएकै आरोपमा अराजक समूहले घर जलाउने र सम्पत्ति लुट्ने काम गरे। त्यस अराजकताले निम्त्याएको विचलनबाट तत्काल सहलिएर उनी नगरपालिकाका काममा सक्रियतापूर्वक लागिन्। जलेको नगर भवन सफा गरिन्। खरानी बढारिन्। उजाडिएका वडा कार्यलयहरुलाई तत्काल विकल्प दिएर जनताका काम गरिन्। अहिले डेरामा बसिरहेकी उनी भन्छिन्, ‘राजनीतिमा यस्ता उतारचढाव आउँछन्। जान्छन्। तर आफ्नो मूल जिम्मेवारीबट तलमाथि गर्न मिल्दैन।’

केपी शर्मा ओलीको नेतृत्वमा नै पार्टी अघि बढ्नु पर्दछ भन्ने धारणा पार्टीका फोरममा राख्दै आएकी ढकाल आफ्नो उम्मेदवारीले ‘मेरो उम्मेदवारीले समग्र कर्णालीका महिलाको राजनीतिक वृत्तिविकासमा सहयोग पुग्छ,’ उनी भन्छिन्।

प्रकाशित: २९ मंसिर २०८२ १७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App