जेन-जी अभियन्ता मिराज ढुंगानाले आफू नेपाली कांग्रेसमा प्रवेश नगरेको स्पष्ट पारेका छन्।
सर्लाही क्षेत्र नम्बर-४ मा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाबाट पार्टी प्रवेश गर्ने चर्चा चलिरहँदा मिराजले भने आफू केवल समर्थन जनाउन मात्र त्यहाँ पुगेको बताएका हुन्।
सोमबार सर्लाहीमा कांग्रेस सभापति थापासँग मञ्चमा तस्बिर खिचाएर बाहिरिएका मिराजले नागरिक न्युजसँग कुराकानी गर्दै पार्टी प्रवेश गर्ने आफ्नो कुनै मनसाय नरहेको प्रस्ट्याए।
‘म पार्टी प्रवेश गर्न गएको होइन, गगन दाइ र कांग्रेसलाई समर्थन जनाउन मात्र गएको हुँ,’ मिराजले भने, ‘अहिले नै कुनै दलको सदस्यता लिएर राजनीतिमा होमिनु भन्दा पनि विचार मिल्ने शक्तिलाई सघाउने मेरो योजना हो।’
मिराजले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई किन समर्थन गरेनन् भन्नेबारे पनि खुलेर धारणा राखे। उनले रास्वपाप्रति टिप्पणी गर्दै राजनीतिक चेत र पृष्ठभूमि नभएका मानिसहरूको भीडले देश बनाउन नसक्ने दाबी गरे।
‘रास्वपामा राजनीतिमा संलग्न नभएका वा कुनै राजनीतिक पृष्ठभूमि नै नभएका मानिसहरूको जमात धेरै भयो, त्यसमाथि कलाकारहरू पनि थुप्रिए,’ मिराजले नागरिक न्युजसँग भने, ‘यस्ता मान्छेहरूले देश बन्दैन। राजनीति गर्न इतिहास, त्याग र संस्कार चाहिन्छ। त्यही भएर मैले रास्वपालाई समर्थन नगरेको हुँ।’
उनले नेपाली कांग्रेस लामो इतिहास र संघर्ष बोकेको पार्टी भएकाले र गगन थापाजस्तो भिजन भएको नेतृत्व भएकाले आफूले कांग्रेसलाई समर्थन गरेको बताए। ‘देश चलाउन अनुभव र विचार चाहिन्छ,’ उनले थपे।
यसअघि गत भदौ २३ गते काठमाडौंमा जेन-जी आन्दोलनको नेतृत्व गरेका मिराज र उनको समूह वर्तमान सरकारसँग रुष्ट रहँदै आएको छ। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई उनीहरूले आफ्ना मागहरूप्रति उदासीन रहेको आरोप लगाउँदै आएका छन्।
प्रकाशित: १८ फाल्गुन २०८२ १८:३२ सोमबार





