२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

मन्त्री पुनको प्रश्न : अपराध गर्नेलाई दण्ड नगरे समाज कस्तो हुन्छ ?

फाइल तस्बिर

विज्ञान, प्रविधि तथा नवप्रविधि मन्त्री महावीर पुनले ट्राफिक जरिवानाबारे केही दिनअघि दिएको अभिव्यक्ति फिर्ता लिएका छन्। सामाजिक सञ्जालमार्फत माफी माग्दै उनले आफ्नो भनाइ फिर्ता लिएका हुन्।

केही दिनअघि केही युट्युबरलाई दिएको अन्तर्वार्तामा पुनले ट्राफिक नियम अटेर गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना गर्नुपर्ने बताएका थिए। उक्त भनाइको चौतर्फी आलोचना भएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केहि दिन अगाडि सोसल मिडियाका केही पत्रकारहरुलाई अन्तरवार्ता दिँदा रु. ५० हजार जरिवाना गर्नु पर्छ भनेर मैले बोलेको कुरा फिर्ता गर्दै मैले निम्न अनुसारको घोषणा गर्दछु। त्यसो गर्दा कसैलाई अज्ञानवश चोट पुगेको छ भने माफ गर्नुहोला । ट्राफिक नियमलाई अटेर गर्नेहरुले मुटुमा हात राखेर सोच्नु होला।’

उनले आफूमाथि अनावश्यक दबाब दिएर उक्त कुरा निकाल्न लगाइएको दाबी गर्दै एक वर्षसम्म कसैलाई पनि अन्तर्वार्ता नदिने कडा निर्णय गरेका छन्। उनले लेखेका छन्, ‘आजदेखि मैले कुनै पनि ठूला-साना युट्युबरसहित सोसल मिडिया र पत्रकारलाई अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म एक शब्द पनि अन्तर्वार्ता दिने छैन, छैन, छैन। केही दिनअगाडि ट्राफिक जरिवानासम्बन्धी कुरामा मलाई केही थाहा छैन भन्दाभन्दै पनि उनीहरूले कोट्याई-कोट्याई सोधेका थिए। मैले अटेर गर्नेलाई जरिवाना गर्नुपर्छ भनेको हो र ५० हजारको कुरा उनीहरूले नै निकालेका हुन्।’

पुनले अटेर गर्ने वा अपराध गर्नेलाई आवश्यक जरिवाना तथा दण्ड सजाय नभए देश र समाज कस्तो हुन्छ भन्दै प्रश्नसमेत गरेका छन्।

यसअघि मन्त्री पुनले एक अन्तर्वार्तामा नेपालीहरूलाई ट्राफिक नियम पालना गराउन र तर्साउन कडा जरिवाना आवश्यक रहेको धारणा राखेका थिए। उनले ‘ट्राफिक नियम के-के छन् मलाई थाहा छैन, तर नेपालीहरूलाई तर्साउनै पर्छ, नत्र टेर्दैनन्’ भन्दै ५० हजार जरिवाना लगाउने कुराको बचावमा तर्क गरेका थिए। हालै मुगुका गणेश नेपालीले गरेको आत्मदाहको घटनासँग जोडेर उनको उक्त अभिव्यक्तिप्रति चर्को आलोचना भइरहेको थियो।

प्रकाशित: २७ असार २०८३ ०९:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App