४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

सिटिइभिटिलाई शिक्षामन्त्रीको निर्देशन: १३ वर्षदेखिका आवेदनहरु छानबिन गर्नू

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सुधारका लागि तत्काल कार्यान्वयन गर्न चारवटा महत्वपूर्ण निर्देशनहरू जारी गरेका छन्।

परिषद्को अध्यक्षको हैसियतमा बिहीबार बसेको बैठकमा उनले पाठ्यक्रम परिमार्जन, समयमै नतिजा प्रकाशन, गुनासो सुनुवाइ संयन्त्र निर्माण र विगत एक दशकदेखि रोकिएका सम्बन्धनका फाइलहरू तत्काल टुङ्ग्याउन निर्देशन दिएका हुन्।

मन्त्री पुनले २०६९ सालदेखि हालसम्म सम्बन्धनका लागि परेका सम्पूर्ण आवेदनहरूको छानबिन गरी असोज मसान्तभित्र प्रतिवेदन पेस गर्न र सम्बन्धन दिने वा नदिनेबारे तत्काल निर्णय लिन निर्देशन दिएका हुन्।

यसैगरी, उनले हालको पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न आवश्यक खाका तयार गरी सोही समयसीमाभित्र पेस गर्न पनि निर्देशन दिए।

विश्वविद्यालयहरूलाई दिएको निर्देशन जस्तै, मन्त्री पुनले सिटिइभिटिलाई पनि एकीकृत शैक्षिक क्यालेन्डर निर्माण गरी परीक्षाफल ३ महिनाभित्र अनिवार्य रूपमा प्रकाशन गर्ने व्यवस्था मिलाउन भनेका छन्।

विद्यार्थी, अभिभावक र शिक्षकहरूका गुनासोलाई तत्काल सम्बोधन गर्न परिषद्को कार्यालयमा छुट्टै गुनासो सुनुवाइ शाखा स्थापना गरी सञ्चालनमा ल्याउन पनि उनले निर्देशन दिए।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत यी निर्देशनहरू सार्वजनिक गर्दै यस्तै यस्तै अरु केहि सानातिना निर्णयहरु भएका छन् भनी उल्लेख गरेका छन्।

प्रकाशित: ९ आश्विन २०८२ २०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App