लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट र योजना कार्यान्वयनबारे पर्यटन डिभिजन कार्यालयका अधिकारीहरूसँग परामर्श गरेका छन्।
बाँकेको कोहलपुरस्थित पर्यटन डिभिजन कार्यालयमा पुगेर मन्त्री न्यौपानेले पर्यटनतर्फ विनियोजित बजेट र योजना कार्यान्वयनबारे हालसम्म भएको उपलब्धिबारे जानकारी लिएका छन्। अहिले चालु आर्थिक वर्षका लागि चयन भएका योजना कार्यान्वयनका लागि सर्भेको काम चलिरहेको छ। मन्त्री न्यौपानेले मन्त्रालयबाट विनियोजन भएका सबै योजनाहरू समयमै सम्पन्न हुने गरि प्रकृया थालनी गर्न डिभिजनका अधिकारीहरूलाई निर्देशन दिए।
समयमै योजना कार्यान्वयनको प्रकृया नथालिँदा योजना निर्माणको काम अधुरै रहने समस्या देखिने गरेको भन्दै मन्त्री न्यौपानेले यो समस्या आउन नदिने गरी द्रुत गतिमा योजना कार्यान्वयनको काम अघि बढाउन निर्देशन दिए। ‘मन्त्रालयका तर्फबाट विनियोजना भएका सबै योजना कार्यान्वयनका लागि तपाईँहरू सक्रिय भएर लाग्नुस्,’ मन्त्री न्यौपानले निर्देशन दिँदै भने, ‘योजना कार्यान्वयन नहुने समस्या आउनु भएन, सबै नागरिकले प्रदेश सरकारको अनुभूति गर्न पाउने वातावरण बनाउनुहोला।’
प्रदेश सरकारको औचित्य माथिका प्रश्नहरूलाई चिर्नका लागि प्रदेश सरकारबाट विनियोजन भएका योजनाहरू कर्यान्वयन हुनु पर्ने बताएका मन्त्री न्यौपानेले आम नागरिकलाई प्रदेश सरकार मार्फत विकासको अनुभूति दिलाउन जरुरी रहेको जिकिर गरे।
मन्त्रालय अन्तर्गत पर्यटन डिभिजन कार्यालय दुई स्थानमा छन्। रुपन्देही र कोहलपुरमा रहेका डिभिजनहरूले ६/६ जिल्लामा काम गर्दै आएका छन्।
प्रकाशित: १६ मंसिर २०८२ १५:०८ मंगलबार





-1200x560-600x400.jpg)