राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन्।
नेकपा (एमाले) को कोटाबाट राष्ट्रियसभा सदस्य रहेकी न्यौपानेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेका हुन्।
‘नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीज्यूको सिफारिसमा भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी राष्ट्रपतिज्यूले तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यसअघि सोही मन्त्रालयको जिम्मेवारी पाएका राजकुमार गुप्ता घुस ‘अडिओ’ बाहिरिएसँगै जिम्मेवारीबाट हटाइएका छन्।
मन्त्री नियुक्त भएसँगै न्यौपानेलाई बधाई ओइरिएको छ तर, सँगै उनको आलोचनासमेत सुरु भएको छ। त्यसो त २०७४ सालको पहिलो स्थानीय तह चुनावमा न्यौपाने पराजित भएकी थिइन्।
तनुहँको भानु नगरपालिका मेयरको चुनाव लडेकी उनी नेपाली कांग्रेसका उदयराज गौलीसँग पराजित भएकी थिइन्। ९ हजार ६ सय ३८ मत ल्याएर गौली विजयी बन्दा न्यौपाने ९ हजार ६६ मतमा सीमित भएकी थिइन्।
यसपछि त्यसको दुई वर्षपछि पार्टीले उनको ‘व्यवस्थापन’ राष्ट्रिय सभामा गर्यो। उनी २०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य निर्वाचित भइन्। राष्ट्रिय सभामा उनले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्छिन्।
राष्ट्रियसभा सदस्य बनेको चार वर्षपछि उनले मुख्य सचेतकको जिम्मेवारीसमेत पाइन्। मन्त्री नियुक्तको बेलासम्म पनि उनी राष्ट्रिय सभामा एमाले मुख्य सचेतककै जिम्मेवारीमा थिइन्। उनी २०८० फागुन २० गतेयता मुख्य सचेतकको जिम्मेवारीमा थिइन्।
एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको राजनीतिबाट उदाएकी उनले अनेमसङ्घ तनहुँको सचिव हुँदै दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसकेकी हुन्। एमालेको तनहुँ जिल्ला सचिवसमेत रहेकी उनी राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति सदस्यसमेत हुन्।
जसै राष्ट्रियसभा ‘चुनाव हारेकाहरूको व्यवस्थापनको थलो’ हुने गरेको भन्दै आलोचना हुने गरेको छ। राष्ट्रियसभा चुनावमा स्थानीय सरकारका प्रमुख तथा उपप्रमुख मतदाता हुने हुनाले राष्ट्रियसभा सदस्यहरू ‘जननिर्वाचित होइनन्’ भन्ने कोणबाट समेत बहस उठ्ने गरेको छ।
राष्ट्रिय सभामा निश्चित प्रक्रियाबाटै आउने भए पनि आलोचना भने धेरै नै हुने गरेका छन्, खासगरी अघिल्लो चुनाव पराजित भएकाहरू आउने भएकाले ! यही पृष्ठभूमिमा मन्त्री बनेकी न्यौपानेमाथि पनि मुख्यत्: यही कोणबाट आलोचना भएको छ।
प्रकाशित: ३१ असार २०८२ १९:०५ मंगलबार





