१३ श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

मन्त्री बादीद्वारा दिवा शिशु केन्द्रको अनुगमन

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले आज सिंहदरबारस्थित दिवा शिशु केन्द्रको स्थलगत अनुगमन गरेकी छन्।

सो अवसरमा मन्त्री बादीले केन्द्रको सेवा सञ्चालन, बालबालिकाका लागि उपलब्ध हेरचाह सेवा, भौतिक पूर्वाधार तथा समग्र व्यवस्थापनको अवस्थाको अवलोकन गरेको उनको सचिवालयले जनाएको छ।

केन्द्र परिसरमा रहेको पुरानो भवनको संरचनागत अवस्था, उपयोगिता तथा त्यसलाई दिवा शिशु केन्द्रको प्रयोजनको सम्भावनाबारे मन्त्री बादीले जानकारी लिइन्। उक्त भवनलाई आवश्यक मर्मत तथा स्तरोन्नति गरी दिवा शिशु केन्द्रको प्रयोजनमा उपयोग गर्ने वा केन्द्रको आवश्यकताअनुरूप पुनःसंरचना गर्ने विषयमा प्राविधिक अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउनेबारे छलफल भयो।

मन्त्री सीता बादीले प्रारम्भिक बालस्याहार तथा संरक्षणका सेवाको गुणस्तर अभिवृद्धिका लागि सुरक्षित, सुविधासम्पन्न र बालमैत्री पूर्वाधार आवश्यक रहेको धारणा व्यक्त गरिन्। उनले दिवा शिशु केन्द्रको दीर्घकालीन आवश्यकता, सेवा विस्तार तथा बालबालिकाको सर्वोत्तम हितलाई दृष्टिगत गरी पूर्वाधार विकासका सम्भावित विकल्पमा आवश्यक तयारी अगाडि बढाउनुपर्नेमा जोड दिइन्।

अनुगमनका क्रममा भएका छलफलका आधारमा दिवा शिशु केन्द्रको पूर्वाधार सुधार तथा पुनःसंरचनासम्बन्धी विषयमा सम्बन्धित निकायबिच आवश्यक समन्वय र प्राविधिक अध्ययनको प्रक्रिया अगाडि बढाइने समझदारी भयो।

प्रकाशित: ७ श्रावण २०८३ २१:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App