५ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

ट्रेड युनियन र संघसंस्थाले ओगटेको अवैध संरचनामा महानगरले चलायो डोजर

ट्रेड युनियनहरू र संघसंस्थाले ओगटेका अवैध संरचनामा पनि पोखरा महानगरपालिकाले डोजर चलाएको छ। विभिन्न पार्टीनिकट मजदुर संगठन र संघसंस्थाहरूले पोखरा बसपार्कको बाटो उत्तरपट्टि बनाएका दर्जनौँ भवनमा महानगरले बिहीबार डोजर चलाएको हो।

महानगरले यसअघि ती भवनहरू हटाउन ३५ दिने सूचना जारी गरेको थियो। पटक–पटकको सूचना बेवास्ता गरेपछि महानगरले बिहीबारदेखि त्यहाँ रहेका भवनलगायतका संरचना हटाउन डोजर चलाएको छ। पृथ्वीचोकको बाटो उत्तरपट्टि रहेको पोखरा हङकङ बजारअगाडि रहेका नेपाली कांग्रेसनिकट मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेस, नेकपा एमालेनिकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कास्की र गण्डकी तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भवनहरू डोजरले भत्काएको छ।

त्यस्तै, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पृथ्वीचोक, सहारा क्लब पोखरा, हिमाली सांस्कृतिक परिवार, श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडलगायतका संघसंस्थाका भवनसमेत डोजर लगाएर भत्काइएको छ। साथै सहारा क्लबले सो क्षेत्र प्रवेशद्वार नजिकै बनाएको सहारा शौचालयसमेत भत्काइएको छ।

यी भवनहरू हटाउन महानगरले ३५ दिने म्यादसहितको सूचना निकाले पनि कसैले पनि हटाएका थिएनन्। भवन नभत्काए पनि मजदुर संगठन तथा संघसंस्थाहरूले सामान भने सारेर भवन खाली गराइसकेका थिए। भवन भत्काउन डोजरसहित महानगर प्रहरी पुग्दा केहीले भने सामान सारिरहेको दृश्य पनि देखिएको थियो। सूचना निकालिए पनि तत्काल महानगरले डोजर लगाइहाल्ला भन्ने नलागेर सामान सार्न ढिलाइ भएको उनीहरूको भनाइ थियो।

आफैंले नहटाएपछि बाध्य भएर बिहीबारदेखि डोजर लगाएर भत्काउन थालिएको पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले जानकारी दिए। भत्काउँदा लाग्ने खर्च भने सम्बन्धित संघ, संस्था तथा मजदुर संगठनबाटै असुलउपर गरिने उनले बताए।

पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेका यी जग्गाहरूमा मजदुर संगठन तथा संघसंस्थाहरूले दुई–तीन तले भवन ठड्याएर माथिल्लो तलामा कार्यालय सञ्चालन गर्नुका साथै तल्लो तलामा सटर बनाएर भाडामा लगाएका थिए। जसको भाडा ती मजदुर संगठन तथा संघसंस्थाहरूको नियमित आम्दानीको स्रोत बनेको थियो।

महानगरले संरचना भत्काएर सडक फराकिलो बनाउने भएको छ। अहिले भत्काइएको क्षेत्रमा साँघुरो सडक छ। तर अब त्यहाँ रहेका संरचना हटेपछि दुई लेनको सडक बनाउने योजना रहेको पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए। उनले भने, “अहिले ठाउँ फराकिलो भएको छ। अब पृथ्वीचोक नपुगी बसपार्कको अपोजिटबाट सिधै नयाँबजार निस्किने दुई लेनको सडक बनाउँछौँ।”

महानगरले फिर्केखोला खोला किनारमा बनेका संरचना पनि निरन्तर हटाइरहेको छ। सो खोलाको खोला किनारमा बनेको लिटिल स्टेप बोर्डिङ स्कुलको भवन भने केही दिनमै भत्काइने भएको छ। स्कुलले विद्यार्थी अध्ययन गरिरहेकाले वैकल्पिक व्यवस्थाका लागि केही दिन पर्खिदिन आग्रह गरेकाले सो विद्यालयको भवन तत्काल नभत्काइने मेयर आचार्यले बताए।

तर महानगरसँग केही दिनको समय मागेको सो विद्यालयले सर्वोच्च अदालत गएर तत्काल भवन नभत्काउन अल्पकालीन आदेश मागेको खबर प्राप्त भएको छ। स्वीकृति लिएर भवन बनाएकाले महानगरको भत्काउने निर्णयमा रोक लगाउन गरिएको मागअनुसार नै सर्वोच्चले अल्पकालीन आदेश दिएपछि मेयर आचार्य आक्रोशित भएका छन्।

उनले केही व्यक्ति तथा संस्थाले फिर्केखोला खोला किनारभित्रका संरचना नभत्काउन, रोक्न र स्थगन गर्न दिएको निर्देशनप्रति ध्यानाकर्षण भएको जनाएका छन्। उनले भने, “महानगरपालिकाले सम्मानित उच्च अदालतको यसअघिको आदेश र पटक–पटक संरचना आफैं हटाउन दिएका सूचनाको समय व्यतीत भइसकेपछि मात्र खोला किनारमा बनेका संरचनाहरू हटाउन सुरुवात गरेको हो। अब कुनै पनि बहानामा खोला माथि बनेका संरचनाहरू भत्काउन बाँकी रहँदैनन्। डोजर चल्न रोकिने छैन।”

उनले दिएको समयसीमाभित्र संरचना नहटाई बहानाबाजी गर्न खोजिएकाले महानगर आफैंले हटाउन थालेको स्पष्ट पारेका छन्। “अब महानगरपालिकाको यो अभियान रोकिने छैन,” उनले थपे, “खोला, खोला नै हो। खोला नै रहने छ। कुनै कन्फ्युजन छैन। यसमा रहेका सबै संरचना भत्काइनेछन्।”

प्रकाशित: १४ जेष्ठ २०८३ १८:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App