कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग विश्व खाद्य कार्यक्रम- नेपालका प्रतिनिधि रियाज लोधीको भेटवार्ता भएको छ।
भेटवार्तामा मन्त्री अधिकारीले खाद्य अधिकारलाई नेपालको संविधानले मौलिक हकमा राखेको उल्लेख गर्दै नेपालको खाद्य अधिकार र पोषणको क्षेत्रमा कार्यक्रम मार्फत हुँदै आएको सहयोगलाई धन्यवाद दिए। आगामी दिनमा थप प्राथमिकता तय गरी मन्त्रालय र कार्यक्रमबिच सहकार्य गर्नुपर्ने बताए।
मन्त्री अधिकारीले भने, ‘प्रत्येक नागरिकले स्वस्थ र पोषणयुक्त खाना खान पाउनु पर्ने नैसर्गिक अधिकारको सुनिश्चितताका लागि खाद्य पदार्थको नियमित उपलब्धता आवश्यक छ।’
सोह्रौ पञ्चवर्षीय योजना, कृषि विकास रणनीति २०७२–९२, राष्ट्रिय पोषण रणनीति २०७७ लगायतका नीतिगत दस्तावेजमा खाद्य पदार्थमा पौष्टिक तत्व स्तरोन्नति गर्ने बताए। स्थानीय रैथाने खानेकुराको प्रवर्द्धन गर्ने विषयलाई प्राथमिकताका साथ समेटेको उल्लेख गर्दे मन्त्री अधिकारीले यसको कार्यान्वयनका लागि पनि मन्त्रालय र मातहतका निकायमा विश्व खाद्य कार्यक्रमको निरन्तर सहयोग आवश्यक रहेको बताए। भेटमा विश्व खाद्य कार्यक्रमका प्रतिनिधि लोधीले नेपालको खाद्य तथा पोषणका क्षेत्रमा कार्यक्रम मार्फत लामो समयदेखि सहकार्य हुँदै आएको बताए। आगामी दिनमा मन्त्रालयले लिएको लक्ष्य प्राप्तिमा पनि कार्यक्रमले निरन्तर सहयोग गर्ने बताए।
जलवायु परिवर्तनका कारण कृषि खाद्य र पोषणका क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण गर्ने सन्दर्भमा मन्त्रालयको प्राथमिकताका आधारमा सहयोग अघि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे। विश्व खाद्य कार्यक्रमले अन्तर्राष्ट्रिय वित्तिय संस्थाहरूसँगको सहकार्यमा सरकारलाई कार्यक्रम कार्यन्वयनका लागि सहयोग गरिरहेको र मन्त्रालयले यस्ता क्षेत्रहरू तय गरेकमा कार्यक्रममार्फत थप सहयोग र सहकार्य हुन सक्ने प्रतिनिधि लोधीले बताए।
प्रकाशित: १८ भाद्र २०८२ १३:३६ बुधबार





