राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले नख्खु कारागार बाहिरको घटनामा आफूलाई जोडेर सार्वजनिक गरिएको भिडियो नियोजित रूपमा काटछाँट गरी चरित्रहत्या गर्ने उद्देश्यले फैलाइएको दाबी गरेका छन्।
उनले उक्त भिडियोको सत्यतथ्य छानबिन गर्न माग गरे। मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाले आफूले स्थितिलाई नियन्त्रण गर्न खोजेको ३ सेकेन्डको भिडियो क्लिपलाई अन्य ६७ सेकेन्डको घटनासँग जोडेर आफूले नै नेतृत्व गरेको जस्तो भ्रामक प्रस्तुत गरिएको आरोप लगाए।
‘मैले नगर, यो हाम्रो अभ्यास होइन भनेर रोक्न खोजेको ३ सेकेन्डको भिडियोलाई अन्य घटनाक्रमसँग जोडेर मेरो मानमर्दन गर्ने, मानसिक तनाव दिने र राजनीतिबाटै बाहिर निकाल्ने षड्यन्त्र भयो,’ झाले भने, ‘यदि समाज ३५ वर्षदेखि लुटिरहेकाहरू नै सत्तामा फर्किउन् भन्ने चाहन्छ भने भनिदियोस्, म व्यक्तिगत रूपमा राजनीति छोड्न तयार छु।’
उनले भ्रामक भिडियोका कारण सामाजिक जीवनमै असर परेको भन्दै आक्रोश व्यक्त गरे। ‘अब त छिमेकीको घरमा आगो लाग्दा पनि बचाउन जान डर लाग्ने भयो, भोलि भिडियो जोडेर तैँले नै आगो लगाएको होस् भन्लान्,’ झाले थपे, ‘सडकमा दुर्घटना हुँदा बचाउन जान डर लाग्ने, आर्यघाटमा मलामी जाँदा पनि तैँले नै मारेको होस् भन्लान् कि भन्ने भय सिर्जना गरिएको छ।’
उनले अन्य राजनीतिक दलहरूले आफ्ना कार्यकर्ताबाट गल्ती हुँदा संरक्षण गर्ने गरेको तर रास्वपाले भने काभ्रे र पोखराका घटनामा आफैँ छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएको दृष्टान्त दिए।
‘हामीमाथि लागेका आरोपको छानबिन गर्न बनेको न्यायिक समितिले यो भ्रामक भिडियोको पनि छानबिन गरोस्,’ उनले भने, ’मैले गलत गरेको छैन भन्नेमा म स्पष्ट छु, तर एउटै क्लिपलाई आधार बनाएर अपराधी मानसिकता भएका केही व्यक्तिले गरिरहेको यो प्रचार निन्दनीय छ।’
प्रकाशित: ७ आश्विन २०८२ २०:०५ मंगलबार





