१ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

प्रमुख दलहरू चाडपर्वमा हुने चियापानबारे यो वर्ष मौन

देशका विभिन्न क्षेत्रमा बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि प्रमुख राजनीतिक दलहरूले यस वर्ष दसैँ, तिहार र छठ पर्वका अवसरमा केन्द्रस्तरमा औपचारिक चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने भएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायतका प्रमुख दलहरूले यस वर्ष चाडपर्वका अवसरमा विगतमा जस्तै औपचारिक कार्यक्रम आयोजना नगर्ने जनाएका छन्। 

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार पार्टीले शुक्रबारसम्म चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमबारे कुनै निर्णय गरेको छैन। यद्यपि, प्रदेश र जिल्ला तहमा भने यस्ता कार्यक्रम गर्न रोक लगाइएको छैन। 

त्यस्तै, नेपाली कांग्रेसले पनि यस वर्ष चियापान कार्यक्रम गर्नेबारे निर्णय नभएको जनाएको छ। कांग्रेसका पूर्वप्रवक्ता देवराज चालिसेले पार्टी महाधिवेशनको तयारीमा व्यस्त रहेकाले दसैँसम्म कार्यक्रमबारे निर्णय हुन नसकेको बताएका छन्। 

नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पनि चियापान कार्यक्रम आयोजना गर्ने विषयमा निर्णय भइनसकेको बताए। उनका अनुसार देशमा बाढीपहिरोको विपत्ति र पार्टी अध्यक्षको पारिवारिक शोकलगायतका कारणले यस वर्ष कार्यक्रम नहुन सक्ने सम्भावना छ। 

एमालेले मनमोहन अधिकारी पार्टी अध्यक्ष रहेको समयदेखि दसैँको पूर्णिमाका दिन पार्टी कार्यालयमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको थियो। तर, पार्टीले २०८१ र २०८२ सालमा पनि यस्तो कार्यक्रम आयोजना गरेको थिएन। 

यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाले भोटेकोशी र बूढीगण्डकीलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण केन्द्रमा दसैँ–तिहारको शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने निर्णय गरिएको बताएका छन्। 

गत भदौ १० गते चीनको ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको थियो। बाढीपहिरोका कारण विभिन्न जिल्ला प्रभावित हुनुका साथै हजारौँ नागरिक घरबारविहीन बनेका छन्। 

उद्धार, राहत तथा पुनःस्थापनाको आवश्यकता बढिरहेका बेला राजनीतिक दलहरूले पनि औपचारिक उत्सवभन्दा विपद्को अवस्थालाई प्राथमिकतामा राखेका छन्। 

प्रकाशित: ३० आश्विन २०८३ १२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App