सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उपभोक्ता समिति मार्फत हुने विकास निर्माणका काम तत्काल रोक्न र कुनै पनि योजना कार्यान्वयन गर्नुअघि स्पष्ट कार्यतालिका बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन्।
बैतडीमा शुक्रबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले अनावश्यक ठाउँमा बजेट विनियोजन भएको तथा सम्पन्न भइसकेका योजनामा समेत रकम निकासा भएको गुनासो बढेपछि यस्तो निर्देशन दिएका हुन्।
बैतडीका पालिका प्रमुख, विभिन्न कार्यालयका प्रमुख तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको अन्तरक्रियामा मुख्यमन्त्री शाहले विकास योजनामाथि व्यापक जनगुनासो आउनु चिन्ताको विषय भएको बताए।
‘आवश्यकता नभएको ठाउँमा बजेट विनियोजन भएको व्यापक गुनासो आएको छ,’ मुख्यमन्त्री शाहले भने, ‘यदि यस्तो भएको हो भने त्यस्ता योजना कार्यान्वयन हुँदैनन्। त्यसका लागि स्पष्ट कार्ययोजना बनाएर मात्र काम अघि बढाउनुहोस्।’
उनले उपभोक्ता समिति मार्फत हुने काममा पारदर्शिता नदेखिएको र गुणस्तरहीन काम भएको भन्दै त्यस्ता सबै काम रोक्न निर्देशन दिए।
विकास निर्माणका कामलाई ठेक्का सम्झौता मार्फत अघि बढाउनुपर्नेमा जोड दिँदै उनले पालिका महासंघलाई पनि स्पष्ट मापदण्ड बनाउन आग्रह गरे।
प्रकाशित: २२ कार्तिक २०८२ २०:४६ शनिबार





