नेकपा एमालेका सचिव महश बस्तेनले नेकपा एमाले र नेकपाबीच सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएका छन्।
एमाले अध्यक्ष के.पी. शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको महत्त्वपूर्ण वार्तालापपछि सहकार्यको नयाँ वातावरण बनेको उनले बताएका हुन्।
मंगलबार सामाजिक सञ्जालमार्फत सचिव बस्तेनले एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको जानकारी संयोजक प्रचण्डले नै दिएको सुनाए।
सचिव बस्तेनले दुई दलबीचको यो सहकार्य प्रदेश सरकार निर्माणमा मात्र सीमित हुन नहुनेमा जोड दिए। उनले यसलाई मुलुकको वृहत्तर हित, राजनीतिक स्थायित्व र कम्युनिस्ट शक्तिहरूबीचको बलियो सहकार्यका लागि सकारात्मक प्रस्थानविन्दु बनाउनुपर्ने धारणा राखे।
वामपन्थी शक्तिहरूबीचको सहकार्यले मात्र देशलाई राजनीतिक स्थायित्व र समृद्धिको सही दिशामा अघि बढाउन सक्ने उनको भनाइ छ।
प्रकाशित: ५ श्रावण २०८३ २०:०२ मंगलबार





