नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले नेपालको लोकतन्त्र झन्डै प्रधानसेनापतिको हातमा बुझाएको भन्दै टिप्पणी गरेका छन्। शनिवार पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन्।
‘बालेनको एउटा स्टाटसले हाम्रो लोकतन्त्र सेनापतिको कार्यालयमा झन्डै बुझाइएको थियो,’ बस्नेतले भने, ‘जेन–जी नामका युवाहरू सेनापतिको अगाडि लाम लाइन लागेर बसे।’
बालेनकै स्टाटसका कारण जेन–जी युवा सेनाका कर्मचारीसँग प्रधानमन्त्री बनाइदिनुस् भन्न गएको पनि उनले बताए। ‘जमदार साब र सुबेदार साबको अगाडि हामीलाई प्रधानमन्त्री बनाइदिनुस् भन्ने लाइनमा गए। यो कसका कारणले गए? बालेनका कारणले गए,’ बस्नेतले भने।
आज ‘ओरिजिनल जेन–जी’हरू बालेनको त्यो स्टाटस फलो गरेकामा पछुताइरहेको बस्नेतले दाबी गरे।
संसद् विघटन पनि बालेका कारणले भएको उनले बताए। ‘आज ओरिजिनल जेन–जीहरू संसद् विघटन भएका कारणले हाम्रो मागहरू पूरा हुने स्थिति भएन। कांग्रेस–एमाले हाम्रो मागप्रति सकारात्मक थिए भन्दै छन्। त्यो बालेनका कारण पूरा भएन,’ बस्नेतले भने।
जेन–जीहरू अहिले दलहरूलाई निषेध गर्ने कुरा बेठिक थियो भन्ने अवस्थामा पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई दबाब दिने अवस्थामा पुगेको उनले बताए। ‘आज सुशीला आमालाई गएर दलहरूसहितको सर्वदलीय सरकार बनाउने कुरामा आएका छन्। संसद् पुनर्स्थापनाको कुरामा आएका छन्,’ उनले भने।
प्रकाशित: १५ कार्तिक २०८२ २०:०७ शनिबार





